काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले सैन्य गठबन्धनमा सामेल हुने कुरा कल्पना पनि गर्नु नहुने बताएका छन्।
बुधवार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले नेपाललाई कुनैपनि सैन्य गठबन्धनमा सामेल गराउने कुरा कल्पना पनि गर्नु नहुने टिप्पणी गरेका हुन्।
उनले नेपाललाई सैन्य गठबन्धनमा सामेल नगराउन राजनीतिक पार्टीहरुको अडान हुनुपर्ने र सरकार पनि सो अडानमा खुट्टा नकमाइ अगाडि बढ्नुपर्ने बताए।
अध्यक्ष नेपालले परराष्ट्र नीति र राष्ट्रिय सुरक्षाको नीतिको मामिलामा राष्ट्रिय सहमति हुनुपर्ने बताए। नेपालले आर्थिक सहयोग लिँदा राष्ट्रिय हितमा आघात पुग्नेगरी अनुचित शर्त स्वीकार गर्न नहुने उनको भनाइ छ।
‘देशको रक्षाको निम्ति एकताबद्ध भएर अगाडि बढौं। हामीले परराष्ट्रनीतिको मामिलामा, राष्ट्रिय सुरक्षा नीतिको मामिलामा, नेपालमा राष्ट्रिय सहमति कायम गर्ने कुरा ठिक हो,’ उनले भने, ‘व्यापक छलफल, परामर्श गर्ने कुरा पनि ठिक हो। नेपालले आर्थिक सहयोग लिँदा पनि अनुचित शर्तहरुमा सही गर्ने गरेको कुरा पनि सुन्नमा आउँछ।’
अनुचित शर्तहरु स्वीकार गरेर आर्थिक सहयोग लिने कुरामा पनि सहमत हुन नसकिने भन्दै उनले यस्तो हुँदा नेपालको हितमाथि आघात पुग्ने किसिमका अनुचित शर्तहरु राखेर आर्थिक सहायता पनि आउने दाबी गरे।
‘सैनिक कुरासँग जोडिएको, सुरक्षासँग जोडिएका कुराहरुमा कुनै गठबन्धमा, कुनै कसैको अलायन्स बनेर जाने कुराको सन्दर्भमा नेपालले सामेल हुने कल्पना नगरेपनि हुन्छ,’ उनले भने, ‘नेपालीहरुको यही अडान हो। नेपालका राजनीतिक पार्टीहरुको यही अडान हुनुपर्दछ। र, त्यो अडानमा अहिलेको सरकारले पनि खुट्टा नकमाइकन अगाडि बढ्नुपर्छ।’
पूर्वप्रधानमन्त्री नेपालले देशको रक्षाको निम्ति सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए। अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने भनेर नेपालले किन पत्र पठाएन, त्यसको जवाफ परराष्ट्र मन्त्रालयसँग माग्नुपर्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।