काठमाडौं– मंगलबार उच्च अंकले गिरावट भएको नेप्से परिसूचक बुधबार अन्तिम समयमा वृद्धि भएर कारोबार बन्द भएको छ।
बुधबार नेप्से सूचक २३.८३ अंकले बढेर २१११.९९ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.५३ अंकले बढेको छ भने फ्लोटइण्डेक्स १.५१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४४ अंक बढेको छ।
बुधबार २२७ कम्पनीको ७५ लाख ८ हजार १८८ कित्ता सेयर ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १४१ रुपैयाँ बराबरको कारोबार भएको छ। मंगलबार ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार ३९८ रुपैयाँ बराबरको कारोबार भएको थियो।
बुधबार फाइनान्स र हाइड्रोपावर कम्पनीहरुमा नै लगथानीकर्ताको बढी आकर्षण देखियो। विकास बैंक, माइक्रोफाइनान्स र अन्य उपसमूहका कम्पनीहरुमा पनि लगानीकर्ताको आकर्षण केही बढेको देखिन्छ।
नेप्सेका १३ वटा उपसमूहमा व्यापार उपसमूहबाहेक १२ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ। जसमा फाइनान्स उपसमूहको सबैभन्दा धेरै ४.१३ प्रतिशतले बढेको छ। व्यापार उपसमूहको ०.५८ प्रतिशतले गिरावट आएको छ।
बुधबार कारोबारमा आएका जानकी फाइनान्स, युनाइटेड मोदि र राष्ट्र उत्थान लघुवित्तको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। नेष्डो लघुवित्तको ९.९७ प्रतिशत र जाल्पा सामुदायीक लघुवित्तको ९.८४ प्रतिशतले बढेको छ।
बुधबार शिवम सिमेन्टको सबैभन्दा धेरै १७ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने अरुण कावेली हाइड्रोपावरको १२ करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।