काठमाडौं– घुम्न वा रोजगारीको लागि विदेश जाने नागरिकको अभिलेख राख्न स्थानीय तहलाई गृह मन्त्रालयले निर्देशन दिएको छ। भिजिट भिसामा विदेशमा काम गर्न गएकाहरू समस्यामा परेको भन्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो
पछिल्लो समय नेपाली नागरिकहरू भिजिट भिसामा विदेशमा गएर अलपत्र पर्ने, काम नपाउने, गन्तव्य मुलुकबाट प्रवेश निषेध भई फिर्ता हुने गरेका छन्।
भिजिट भिसा विदेशमा काम गर्ने, श्रम गर्ने, रोजगारीमा जाने भिसा नभई विशुद्ध भ्रमण प्रयोजनको लागि मात्र प्रयोग गर्नुपर्ने भिसा भएको मन्त्रालयले जनाएको छ।
तर, विदेशमा गएर काम खोज्ने, रोजगारीमा संलग्न हुने मनसाय राखी भिजिट भिसामा जाँदा काम नपाउने, अलपत्र पर्ने क्रम बढिरहेको मन्त्रालयले जनाएको छ।
'यसरी गैरकानुनी रूपमा विदेशमा गइ समस्यामा परेका नागरिकहरूलाई उद्धार गरी स्वदेश ल्याउनुपर्ने अवस्थामा बीमा, क्षतिपूर्ति तथा राहत उपलब्ध गराउनसमेत सरकारसँग कुनै कानुनी आधार हुँदैन। त्यसैले त्यस्ता व्यक्तिहरू झन् ठूलो कठिनाइमा पर्ने अवस्था हुने गरेको छ', मन्त्रालयले भनेको छ।
विदेशमा रोजगारीका लागि जाने नेपाली नागरिकले सम्बन्धित निकायबाट प्रचलित कानुन बमोजिम श्रम स्वीकृति लगायतका प्रक्रिया पूरा गरेर मात्र जान मन्त्रालयले सुझाव दिएको छ।
आफ्नो परिवारको कुनै सदस्य यसरी विदेश जाँदा सम्पूर्ण प्रक्रिया पूरा गरेको छ वा छैन भन्ने विषयमा बुझ्ने र परामर्श लिने काम गर्न मन्त्रालयले आग्रह गरेको छ।
‘स्थानीय तहलेसमेत आफ्नो क्षेत्रभित्रको नागरिक विदेशमा भ्रमण वा रोजगारीको सिलसिलामा जाँदा त्यस्ता व्यक्तिहरूको अभिलेख तथा आवश्यक कानुनी प्रक्रियाको सहजीकरण तथा परामर्श प्रदान गर्ने व्यवस्था मिलाउन अनुरोध गरिन्छ’, विज्ञप्तिमा उल्लेख छ।
भिजिट भिसामा विदेशमा जानेहरूले भ्रमण भिसाको प्रयोग पर्यटकको रूपमा मात्र गर्न र भ्रमण भिसाको प्रयोग गरी विदेश गएर सुरक्षित श्रम तथा रोजगारीको प्रलोभनमा नपर्न मन्त्रालयले अनुरोध गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।