काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारले आफ्नो माग पूरा नगरे तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको छ।
बुधबार काठमाडौंमा बढ्दो महंगीविरुद्ध दोस्रो चरणको आन्दोलन गरेको राप्रपाले महंगीविरुद्ध पार्टीले सरकारलाई गराएको ध्यानाकर्षणको अवहेलना भए तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको हो।
बुधबार राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले काठमाडौंसहित देशभरका जिल्ला सदरमुकाममा थाल ठटाएर विरोध प्रदर्शन गरेको थियो। काठमाडौंको भृकुटीमण्ड, ललितपुर, भक्तपुरलगायत मुख्य सहरमा पनि विरोध प्रदर्शन गरिएको छ।
विरोध प्रदर्शनपछि सञ्चारकर्मीहरुसँग बोल्दै राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी अध्यक्ष एवं राप्रपा नेतृ अञ्जना रावलले आफूहरुले सरकारलाई महंगी घटाउन ध्यानाकर्षण गराइसकेको तर सरकारले कुनै चासो नदेखाएकोले शान्तिपूर्ण रुपमा दोस्रो चरणको आन्दोलन बुधबारदेखि सुरु भएको बताइन्।
उनले बुधबार शान्तिपूर्ण रुपमा थाल ठटाएर आन्दोलन गरेको र आगामी दिनमा माग पूरा नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।