काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कांग्रेसलाई कम क्षति हुने गरी मात्रै चुनावमा गठबन्धन गरिने बताएका छन्। बुधबार वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा उनले चुनावमा गठबन्धन भने हुने बताए।
'अब हामीहरु प्रदेशको निर्वाचन र संघीय निर्वाचनमा होमिँदै छौं। मंसिरको पहिलो हप्तामै निर्वाचन हुन्छ भन्ने मलाई विश्वास छ। त्यसमा नेपाली कांग्रेसलाई कम क्षति हुने गरी कसरी हामीहरु जान सक्छौं। किनभने हामी गठबन्धनमा छौं। गठबन्धनमा जाने भनेका छौं। तर कम क्षति हुने गरी कसरी जाने भन्ने बारेमा हामीहरु छलफल गरिरहेका छौं', कोइरालाले भने।
उनले माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीलाई आफूहरु नै सबै कुरा हो भन्ने पनि लागिरहेको बताए।
तर त्यस्तो नभएको प्रष्ट पार्दै उनले भने, 'नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी हो। पुरानो पार्टी हो। अहिलेको स्थानीय तहको निर्वाचनमा पनि सबैभन्दा धेरै सिट जितेको पार्टी हो। त्यसैले सबैलाई समेटेर हिँडौं भन्ने हामीहरुको सोच छ। तर नेपाली कांग्रेसलाई कम मात्रै क्षति होस् भन्ने भन्ने मात्रै हामीहरुको कुरा हो।'
उनले वाम गठबन्धन नेपाली कांग्रेससँग बार्गेनिङ गर्न मात्रै बनाइएको हो कि जस्तो लागेको बताए। 'बन्छ भने पनि ठिकै छ। तर बार्गेनिङ गर्ने नाउमा यसपटक कांग्रेसले धेरै कम्प्रोमाइज गरेर जानुहुँदैन। र जाँदैन', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।