काठमाडौं– प्रतिनिधि सभाबाट पारित भएको नेपाल नागरिकता ऐन (पहिलो संशोधन) विधेय २०७९ को विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल सम्बद्ध विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालले काठमाडौंमा राँके जुलुस प्रदर्शन गरेको छ।
मुलुकको राष्ट्रियता, सम्प्रभुता, अखण्डता र स्वाभिमानमाथि गम्भीर आँच पुर्याउने भन्दै राप्रपा नेपाल सम्बद्ध विद्यार्थी संगठनले बिरोध जनाएका हुन्।
नागरिकता विधयेकका बुदाँहरु बिबादास्पद, अनुचित र राष्ट्रहित विपरीत भएको भन्दै विद्यार्थी संगठनका नेता तथा कार्यकर्ताहरुले मंगलबार साँझ काठमाडौंको कीर्तिपुरमा राँके जुलुस प्रदर्शन गरेका हुन्।
नागरिकता संबेदनशील बिषय भएको, मुलुकको स्वाभिमान, स्वतन्त्रता र अस्तित्वसँग गाँसिएको बिषय भएकाले आफूहरु विधेयकको विरोधमा उत्रिएको संगठनका अध्यक्ष चेतराज सिंहले बताए।
विवाह गर्नेवित्तिकै कुनै पनि बिदेशीले तत्काल नागरिकता पाउने नीति संसारमा कहीँ नभएको उनीहरुको भनाइ छ। सबै नेपालीले नागरिकता सरल र सहज रुपमा पाउने कुरामा बिमति नभएको, तर बिदेशीलाई 'नाङ्लोमा राखेर' नागरिकता बाँड्ने बिषय अस्वीकार्य भएको उनीहरुको भनाइ छ।
सत्ता र स्वार्थ पुर्तिको लागि राष्ट्रघाती निर्णय गर्नेहरुलाई जनताले दण्ड दिनुपर्ने उनीहरुको भनाइ छ।
विवाह गरेर आएकाहरुलाई समयसीमा नतोकी धमाधम नागरिकता बाँड्न नहुने राप्रपा नेपालनिकट विद्यार्थी संगठनका नेताहरुको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।