काठमाडौं– निर्वाचन आयोगले वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचन पछिल्ला निर्वाचनको तुलनामा सबैभन्दा मितव्ययी भएको निष्कर्ष निकालेको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रतिमतदाता २८४ रुपैयाँ मात्रै खर्च भएको बताए।
'हालै सम्पन्न स्थानीय तहको निर्वाचन २०७९ मा आन्तरिक स्रोतबाट ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ८७६ खर्च भएको थियो। बाह्य स्रोतबाट सामान्य प्राविधिक र व्यवस्थापकीय सहयोग मात्रै लिइएको थियो। यस निर्वाचनमा प्रतिमतदान केन्द्र खर्च २ लाख २९ हजार ५७८ रुपैयाँ भएको थियो। प्रतिमतदाता खर्च केवल २८४ रुपैयाँ पर्न आएको छ', पौडेलले भने।
पछिल्लो निर्वाचनलाई मितव्ययी साबित गर्न शर्माले २०७० यताको निर्वाचन खर्चसँग तुलना गरेका थिए। उनका अनुसार, संविधान सभा निर्वाचन २०७० मा आन्तरिक र बाह्य स्रोत गरी ५ अर्ब ९८ करोड ८९ लाख ९५ हजार ८० रुपैयाँ खर्च भएकोमा प्रतिमतदान केन्द्र खर्च ३ लाख १८ हजार ९८८ भएको थियो। सो निर्वाचनमा प्रतिमतदाता खर्च ७९३ रुपैयाँ रहन गएको थियो।
त्यस्तै, स्थानीय तह निर्वाचन २०७४ मा आन्तरिक र बाह्य स्रोत गरी जम्मा ७ अर्ब १५ करोड ७७ लाख १९ हजार ९६२ रुपैयाँ खर्च हुँदा प्रतिमतदान केन्द्र ३ लाख ८५ हजार ३८३ र प्रतिमतदाता खर्च ५०९ रुपैयाँ भएको थियो।
'प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७४ मा आन्तरिक स्रोतबाट ७ अर्ब ८० करोड १४ लाख ४९ हजार १२१ रुपैयाँ खर्च भएको थियो भने बाह्य स्रोतबाट प्राविधिक र व्यवस्थापकीय सहयोग मात्रै लिइएको थियो। उक्त निर्वाचनमा प्रतिमतदानकेन्द्र खर्च रु ३ लाख ९३ हजार ८ सय ३४ भएकोमा प्रतिमतदाता ५०६ रहेको थियो', शर्माले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।