काठमाडौं– आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराइ करका दर हेरफेर गरेको सन्दर्भमा छानबिन गर्न गठित संसदीय विशेष समितिको बैठक सिंहदरबारमा सुरु भएको छ।
समितिले बजेट घोषणाको अघिल्लो दिन (जेठ १४ गते)को अर्थ मन्त्रालयको सीसीटीभी फुटेजको रिकभर रिपोर्टका सन्दर्भमा विज्ञहरुसँग छलफल गर्दै छ।
नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालाबाट प्राप्त रिकभर रिपोर्टका सन्दर्भमा समितिले अहिले विज्ञहरुसँग छलफल गर्न लागेको हो। समितिमा छलफलका लागि प्रहरीको विधि विज्ञान प्रयोगशालाका २ जना विज्ञहरु पनि बैठकमा सहभागी छन्।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपको छानबिनका लागि गठित समितिले जेठ १४ गतेको सीसीटीभी फुटेज मागेको थियो। अर्थ मन्त्रालयले उक्त अवधिको फुटेज स्वत: मेटिएको भन्ने जवाफ दिएपछि समितिले फुटेज भण्डार (स्टोर) हुने हार्ड ड्राइभ नै झिकाएर परीक्षण तथा रिकभरका लागि प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाएको थियो।
प्रहरीको विधि विज्ञान प्रयोगशालाले सोमबार समितिलाई आफ्नो रिपोर्ट बुझाएको थियो। सिलबन्दी गरिएको रिपोर्ट मंगलबार बिहान बसेको समितिको बैठकमा खोलिए पनि प्राविधिक भाषाहरु नबुझिएको भन्दै विज्ञसँग छलफल गर्ने निष्कर्ष निकालिएको थियो।
समितिका एक सदस्य (सांसद)का अनुसार फरेन्सिक ल्याबबाट रिकभर गरिएको फुटेजमा केही भिडियो रहेको छ। तर प्रष्ट रुपमा नदेखिएका र बुझ्न नसकिने भएकाले प्राविधिकको सहयोग लिने निष्कर्ष निकालिएको ती सदस्यले नेपाल लाइभलाई जानकारी दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।