काठमाडौं– नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले मंकिपक्सको सम्भावित महामारीको लागि सतर्कता र पूर्व तयारीका लागि सरकारलाई ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभामा मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद भट्टराईले उक्त माग गरेका हुन्।
‘विश्व भरि नै एउटा महामारी फैलिएको छ, मंकिपक्स। यो माहामारीलाई जुलाई २३ मा संयुक्त राष्ट्रसंघले विश्व स्वास्थ्य संकटकालको घोषणा गरेको छ। जुन खालको लक्षण देखिएको छ, यसले हायलकायल बनाएको छ,’ भट्टराईले भने,‘तर, नेपाल सरकार यसबारेमा मौन बसेको छ। सरकार निद्रामा छ। सरकारले सीमामा केही सूचना राखेको छैन। यस विषयमा सञ्चार माध्यमबाट कुनै सचेतनाका सूचनाहरू सार्वजनिक गरेको छैन। खुला सिमाना छ, तसर्थ हामी यसबाट धेरै टाढा छैनौं। नेपाल सरकारको यसमा गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु। पूर्व सतर्कता अपनाउनलाई सरकारलाई आग्रह गर्दछु।’
मंकिपक्स २०२२ को मे मा बेलायतमा पहिलोपटक देखा परेको थियो। त्यसपछि क्रमश अमेरिका, युरोप र अफ्रिका हुँदै एसियामा फैलिएको छ। अहिलेसम्म विश्वमा करिब १८ हजार मानिस यसबाट संक्रमित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।