काठमाडौं- बजेट घोषणाको अघिल्लो दिनको अर्थ मन्त्रालयको सीसीटीभी फुटेज केही मात्रामा रिकभर भएको छ। नेपाल प्रहरीको फरेन्सिक ल्यावमा भिडियो रिकभर गर्नका लागि पठाइएको थियो।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपको छानबिनका लागि गठित समितिले जेठ १४ गतेको सीसीटीभी फुटेज मागे पनि नपाएपछि ‘रिकभर’का लागि प्रहरीको फरेन्सिक ल्याब पठाएको थियो।
सोमबार प्रहरीले उक्त रिपोर्ट समितिमा पठाएको छ। फरेन्सिक ल्याबबाट रिकभर गरिएको फुटेजमा केही भिडियो रहेको तर प्रष्ट रुपमा नदेखिएको संसदीय छानबिन समितिका एक सदस्यले बताए। उक्त दिनको केही सेकेन्डको भिडियो मात्र रिकभर भएको छ।
'प्रहरीको फरेन्सिक ल्याबबाट केही फुटेजहरु रिकभर भएको छ, तर प्रष्ट रुपमा देखिएको छैन।फुजेटहरुमा मानिसहरु त देखिन्छन्, को हो भनेर चिन्न सकिने अवस्था छैन' उनले भने।
फुटेज बुझ्न नसकिने भएकाले प्राविधिकको सहयोग लिने निष्कर्षमा समिति पुगेको र त्यसका लागि मंगलबार अपराह्न ४ बजे बैठक राखिएको उनले बताए।
समितिको मंगलबार बिहान ८ बजे बसेको बैठकमा फुजेटहरु प्रस्तुत गरिएको थियो। प्राविधिकसँग छलफल गर्ने अनि मात्र प्रतिवेदन लेखनको कार्य गर्ने तयारी समितिको छ।
छानबिन समितिका सचिव सुरेन्द्र अर्यालले फरेन्सिक ल्याबबाट प्राप्त भएको प्रतिवेदनमा भएका विवरणहरु प्राविधिक भएकाले विश्लेषणकै क्रममा रहेको बताए।
'केही विषय प्राविधिक रहेका छन्। फरेन्सिक ल्यावसँग सम्बन्धित विज्ञहरु चाहिने भएकाले अहिले बैठक स्थगित भएको छ', उनले भने, 'साँझ ४ बजे विज्ञहरुसँग बसेर प्रतिवेदन सम्बन्धमा छलफल हुन्छ।'
प्राविधिक विषय भएको र समितिका सदस्यहरुले मात्र यसबारे जानकारी पाउने भन्दा पनि फरेन्सिकको सम्बन्धित टिमले नै यसबारे जानकारी गराएपछि एकीन भन्न सकिने अर्यालले बताए।
'प्रतिवेदनमा लेखिएको विषयमा मात्र भन्दा पनि प्राविधिक विषयका बारेमा उहाँहरुले नभनेसम्म यो छ, उ छ भन्न सक्ने अवस्था छैन। जसले गर्नुभयो जानकारीका लागि उहाँहरुलाई बोलाउने हो', उनले भने।
जेठ १४ गते अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गर्दै बजेटमा करको दर परिर्वतन गर्न अर्थमन्त्री शर्माले दबाब दिएको सार्वजनिक भएपछि उनको आलोचना भएको थियो। समिति गठन भएकै दिन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।
सुरुमा १० दिन समय पाएको समितिले काम नसकेपछि पुन: सात दिनको समय पाएको थियो। उक्त अवधि केही दिन बाँकी रहँदा समितिमा प्रहरीको प्रतिवेदन प्राप्त भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।