इनरुवा– सुनसरीको इनरुवा नगरपालिकाका करार कर्मचारी गत १० दिनदेखि आन्दोलनमा छन्। नयाँ जनप्रतिनिधि निर्वाचित भएपछि आफ्ना मान्छे राखेर अरुलाई हटाइएको भन्दै उनीहरु आन्दोलनमा होमिएका हुन्।
कर्मचारीको आन्दोलनका कारण इनरुवा नगरपालिकाको कामकाज १० दिनदेखि ठप्प बनेको छ। करार सेवामा रहेका कर्मचारी कटौतीमा रहेका कर्मचारी आन्दोलनमा उत्रिँदा नगरसहित वडाको कामकाज पनि प्रभावित बनेको छ।
कार्य मूल्यांकनको आधार देखाउँदै ५७ जना कर्मचारी कटौती गरेको विषयलाई लिएर निस्काशनमा परेका कर्मचारीहरुले आन्दोलन गरिरहेका छन्। निस्काशनमा परेका कर्मचारीहरुले राजनैतिक स्वार्थ र पहुँचका आधारमा आफ्ना बाहेककालाई हटाइएको आरोप लगाएका छन्।
नगरपालिकाका मेयर केदार भण्डारीले नगरपालिकालाई त्यति धेरै कर्मचारीको आवश्यक्ता नपरेकाले हटाएको बताए। नगरपालिकाले आर्थिक भार व्यहोरेर त्यत्तिका मात्रामा कर्मचारी राख्न नसक्ने भएकाले हटाएको उनको भनाइ छ। उनले करार कर्मचारीको म्याद थप नहुने दाबी गरे।
इनरुवा नगरपालिकाले सूचना प्रकाशित गर्दै साउनको १ गतेबाट लागू हुनेगरी ५७ जना कर्मचारीको म्याद थप नहुने जनाएको थियो। नगरपालिकाले ५७ जनालाई हटाए पनि करार सेवाकै ७९ जना कर्मचारीको भने म्याद थप गरेको छ। विवादको समाधानका लागि मेयर भण्डारीले भने २० गतेसम्मको समय माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।