काठमाडौं– सरकारले रिक्त रहेको चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको हो।
निवर्तमान अध्यक्ष दयाराम दाहालको कार्यकाल सकिएसँगै चलचित्र विकास बोर्डको अध्यक्षको पद रिक्त थियो। उक्त पदका लागि केसीसहित १० जनाको सूची सरकारले सार्वजनिक गरेको थियो। उक्त सूचीमा नरेश कुमार पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुनिलकुमार पोखरेल, अरुण कुमार प्रधान र सुष्मा कार्कीको नाम सार्वजनिक भएको थियो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले छानेका १० जनामध्येबाट मन्त्रिपरिषद्ले भुवन केसीलाई अध्यक्ष पदमा नियुक्त गरेको छ।
कलाकारिताबाट राजनीतिमा प्रवेश गर्दा एमालेमा पुगेका केसी केही समयअघि मात्रै नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। उनले कांग्रेसमा प्रवेश गरेको केही समयपछि नै राजनीतिक नियुक्ति पाएका छन्। गायन हुँदै अभिनेताबाट हाल चलचित्र निर्माताको रुपमा रहेका केसीमाथि केही वर्षअघि अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मीले फिल्म छायांकनका क्रममा दुर्व्यवहार गरेको आरोपसमेत लगाएक थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।