काठमाडौं–ललितपुरको बालकुमारीस्थित केएफसी रेष्टुरेन्ट अगाडि सोमबार भएको हिट एण्ड रन घटनाका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
सोमबार बिहान ३ बजे कोटेश्वरबाट सातदोबाटोतर्फ आउँदै गरेको नम्बर नखुलेको सवारीले बा ४५ प १३४५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
सो क्रममा स्कुटर चालक ललितपुर धोबीघाटकी २३ वर्षीया रेखा थापा र स्कटुरपछाडी बसेकी २३ वर्षीया सकुन्तला घर्ती घाइते भएका थिए। उनीहरुलाई उपचारका लागि बि एड बी अस्पताल लगिएकोमा बिहान ५ बजे थापाको मृत्यु भएको थियो। घर्तीको भने अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
ठक्कर दिएर फरार भएको नम्बर नखुलेको बोलेराेलाई सीसीटीभी फुटेजको माध्यमबाट पहिचान गरी बोलेरो चालकलाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ। ठक्कर दिएर फरार भएको प्रदेश ३–०१–०२२–च ९१७९ नम्बरको बोलेरोका चालक सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६ का २६ वर्षीय रेलबहादुर मगरलाई भक्तपुरको सल्लाघारीबाट पक्राउ गरिएको हो। उक्त बोलेरो दूध बोक्न प्रयोग भएको खुलेको छ। पक्राउ परेकालाई सवारी ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।