काठमाडौं– सन्तोष सेन तथा छेतेन गुरुङको निर्देशनमा बनेको फिल्म ‘प्रेम गीत ३’ को निर्माण पक्ष हाल प्रचारको काममा व्यस्त छ। हिन्दीमा ‘विश्वजितम’ र नेपालीमा ‘प्रेम गीत ३’ नाममा प्रदर्शन हुन लागेको फिल्मको प्रचारका लागि हाल फिल्मको निर्माण पक्ष जोडतोडले लागिरहेको छ।
यसैबीच आइतबार काठमाडौंको लैनचौरमा फिल्मको हिन्दी ट्रेलर अभिनेता राजेश हमाललाई देखाइएको छ। कुनै बेला ‘प्रेम गीत ३’ फिल्ममा प्रमुख भूमिकामा समेत अभिनय गर्ने प्रस्ताव गरिएका हमालले आइतबार फिल्मको ट्रेलर हेरेका छन्। हमाललाई प्रस्ताव गरिएको भूमिकामा उनले अभिनय गर्न स्वीकार नगरेपछि शिव श्रेष्ठलाई दिइएको थियो।
आइतबार ‘प्रेमगीत ३’को हिन्दी संस्करण ‘विश्वजितम’को ट्रेलर हेरेका हमालले आफूलाई सो ट्रेलर मन परेको बताएका छन्। फिल्मको ट्रेलर हेरेपछि उनले आफूलाई ट्रेलर मन परेको बताउँदै निर्देशक सन्तोष सेनलाई प्रश्न गर्दै सोधेका थिए, ‘के भारतमा पनि नेपाली फिल्मको व्यापार छ?’
हमालको प्रश्नको जवाफमा फिल्मका निर्देशन सन्तोषले भने विगतमा दिग्गजले पहल नगर्दा नेपाली फिल्म स्वदेशमा विस्तार भए पनि विदेशमा विस्तार हुन नसकेको बताएका थिए। हमालले भने आफू सक्रिय रहेको समयमा व्यस्ततासँगै विभिन्न कारणले फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनमा काम गर्न नसकेको बताएका छन्।
सेन र गुरुङको निर्देशनमा बनेको बहुप्रतिक्षित फिल्म ‘प्रेम गीत ३’ नेपालसँगै भारतमा एक साथ प्रदर्शनमा आउँदै छ । असोज ७ गते प्रदर्शनमा आउने उक्त फिल्ममा प्रदीप खड्का, मनिष राउत, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठ लगायतका कलाकारको मुख्य अभिनय रहेको छ। फिल्म नेपालीमा ‘प्रेम गीत ३’ र हिन्दीमा ‘विश्वजितम’को नामबाट प्रदर्शनमा आउँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।