काठमाडौं– आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको प्रकरणमा निर्वतमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिले अर्थ मन्त्रालयको सीसीटीभी फुटेजको फरेन्सिक रिपोर्ट बुझेको छ।
नेपाल प्रहरीको विधिविज्ञान प्रयोशालाले सोमबार संसदीय विशेष समितिलाई सीसीटीभी फुटेजको रिकभरी रिपोर्ट बुझाएको हो। समितिका एक सदस्यका अनुसार प्रहरीले जेठ १५ गते सम्मको सीसीटीभीको फुटेजका बारेमा आफ्नो रिर्पोट पठाएको हो।
प्रहरीको विधिविज्ञान प्रयोगशालाले पठाएको प्रतिवेदन भोलि (मंगलबार)मात्र खोलिने ती सदस्यले बताए। प्रतिवेदनमा के भनिएको छ भनेर मंगलबारको बैठकमा मात्र शिलबन्दी खाम खोलिने र त्यहाँ छलफल हुने ती सदस्यको भनाइ छ।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेपछि सभामुख अग्नि सापकोटाले ११ सदस्यीय संसदीय छानबिन समिति गठन गरेका थिए।
उक्त समितिले अर्थ मन्त्रालयबाट प्राप्त गरेको हार्ड डिस्कमा जेठ महिनाको सीसीटीभी फुटेज नपाएपछि रिकभरीका लागि प्रहरीको विधि विज्ञान प्रयोशलालाई पठाएको थियो। उक्त फुटेजको रिकभर भएमा जेठ १४ गते अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश भए/नभएको पत्ता लाग्ने छ।
समितिले अर्थ मन्त्रालयबाट सीसीटीभी फुटेज नपाएपछि सिंहदरबारका २ प्रवेशद्वारको सीसीटीभी फुटेज मगाएर हेर्ने निर्णय पनि गरेको छ। समितिले पाएको पहिलो १० दिनको समय समाप्त भएपछि फेरि ७ दिन थप भएको थियो।
उक्त अवधिमा प्रतिवेदन दिनेगरि समितिले काम गरिरहेको छ। प्रयोगशालाको रिर्पोट प्राप्त भएकाले अब केही दिनमा प्रतिवेदन लेखेर सभामुख सापकोटालाई बुझाइने समितिका सदस्यको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।