काठमाडौं- नेकपा एकता राष्ट्रिय अभियानका संयोजनसमेत रहेक राष्ट्रिय सभा सदस्य वामदेव गौतम नागरिकता विधेयकको समर्थनमा उभिएका छन्।
सोमबार राष्ट्रिय सभा बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफलमा भाग लिँदै गौतमले विधेयक आवश्यक भएका कारण ल्याइएको बताएका छन्।
गौतमले नागरिकताको समस्या समाधान गर्न सरकारले विधेयक ल्याएर ठिक गरेको भए पनि कतिपय प्रावधानहरु सच्याउनुपर्ने बताए। वैवाहिक अंगीकृत नागरिकता लिनुअघि आफ्नो देशको नागरिकता परित्याग गर्नुपर्ने प्रावधान राख्नुपर्ने उनले बताए।
‘हाम्रो देशमा वैवाहिक अंगिकृत नागरिकताको सम्बन्धमा अहिले जे व्यवस्था आएको छ, त्यो व्यवस्था थोरै केही कुराहरु सच्याउनु पर्छ ’, उनले भने, ‘नागरिकता परित्याग गर्नको निम्ति प्रक्रिया सुरु गरेको सम्बन्धित निकायबाट, भारतको सम्बन्धित निकायबाट कुनै प्रमाण–पत्र लिएर आउनुपर्छ। मैले त्यो प्रक्रिया सुरु गरेको छु भनेर भन्ने मात्रै होइन, उसले प्रक्रिया सुरु गरोस्।’ त्यो प्रक्रिया सुरु भएको कागजपत्र लिएर आएपछि सवैलाई दिनुपर्ने उनको तर्क थियो।
‘नागरिकता नेपाली जनताको विशेष अवस्था हो। आधा भन्दा धेरै जनसंख्या बसेको तराईको समस्या हो’, उनले भने, ‘यो समस्या समाधान गर्नका निम्ति अहिले सरकारले जे व्यवस्था गरेको छ, ठिक गरेको छ। यसमा केही–केही सच्याउनुपर्ने विषय छ। त्यो सच्याउने काम गरोस्’ गौतमले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।