काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले निर्वाचन प्रणालीका कारण भ्रष्टाचार नियन्त्रण हुन नसकेको तर्क गरेका छन्।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले सांसद बन्न नै करोडौं खर्च हुने भएकाले मन्त्री भएपछि लगानी उठाउने गरेको संकेत गरेका हुन्।
उनले भने, 'करोडौं खर्च गरेर किन सांसद हुन्छन् भने सांसद नभइ मन्त्री हुन पाउँदैनन्। सांसद नभइ प्रधानमन्त्री हुन पाइँदैन। मन्त्री र प्रधानमन्त्री हुन करोडौं खर्च गर्नपर्यो। सांसद भइसकेपछि मन्त्री हुन अनेक खेल खेल्नुपर्यो। मन्त्री भइसकेपछि लगानी उठाउनुपर्यो। भ्रष्टाचार यही प्रणालीभित्र छ।'
गाउँपालिकाकै निर्वाचनमा १० करोड खर्च गरेर जितेको रिपोर्ट आफूले पाएको उनले बताए। प्रदेश र केन्द्रको निर्वाचनमा अर्ब खर्च हुने संकेत देखिएको प्रचण्डको भनाइ छ। 'यो निर्वाचन प्रणालीबाट क्रान्तिकारीले जित्ने त सपना भयो। दलाल पुँजीपति र भ्रष्टाचारी जितेर आउने भए,' उनले थपे।
यस विषयमा दलहरुसँग छलफल गर्नुपर्ने अवस्था आएको उनले बताए। 'यो प्रणालीले हामीले ल्याएको सिस्टम खतरा पर्यो भनेर जनतालाई भन्नु पर्यो। ठूला-ठूलो आन्दोलन गर्नुपर्यो। नत्र भने भड्खालोमै लान्छ' उनले भने।
आन्दोलनको रापताप रहेको २०६२/०६३ ताका माओवादी भनेपछि जसले पनि जित्ने अवस्था रहेको बताउँदै अब धेरै पैसा खर्च गर्न सकेन भने नजितिने निष्कर्ष निकाले। तिकडम जानेन भने चुनाव जितेर आउन गाह्रो भएको उल्लेख गरे।
यो प्रणालीबाट पार लाग्दैन भन्ने नैतिक बल माओवादीसँग मात्रै रहेको बताउँदे भने, 'यो प्रणालीबाट जनताले पाउनुपर्ने चिज पाउँदैनन् भनेर नोट अफ डिसेन्ट लेखिएको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।