काठमाडौं- रुसले आफ्ना कारण विश्वव्यापी खाद्य संकट उत्पन्न भएको आरोपलाई अस्वीकार गरेको छ। रुसी विदेश मन्त्री सेर्गेइ लाभ्रोभले मस्कोका कारण विश्वव्यापी खाद्य संकट उत्पन्न भएको आरोपलाई अस्वीकार गरेका हुन्।
कूटनीतिक अभियानमा इजिप्टमा रहेका उनले कायरो स्थित अरब लिगका राजदूतहरूको भेलामा पश्चिमा देशहरूले विश्वव्यापी खाद्य सुरक्षामा परेको असरबारेको तथ्य तोडमोड गरेको दाबी गरे।
रुसले युक्रेनमा सुरु गरेको युद्धका कारण अरब र अफ्रिकी देशहरूमा अन्नको चरम अभाव भएको पश्चिमा देशहरुको आरोप छ।
युक्रेनमा उत्पादित अन्नको निर्यात गर्ने सम्बन्धी शुक्रबार भएको सम्झौता ओडेसा बन्दरगाहमा शनिबार रुसले आक्रमण गरेपछि अलपत्र परेको परेको बीबीसीले जनाएको छ। युद्धबारे रुसको पक्षमा समर्थन जुटाउन लाभ्रोभ तीन वटा अफ्रिकी देशहरूमा जाँदै छन्।
त्यसअघि उनले इजिप्ट स्थित आफ्ना समकक्षी सामेख सुक्रीसँग भेट गरेका थिए। इजिप्टको रुससँग महत्त्वपूर्ण सम्बन्ध छ। रुसले यहाँ गहुँ र हतियारको आपूर्ति गर्नुका साथै युक्रेनमा आक्रमण सुरु हुनु अघिसम्म रुसबाट ठूलो सङ्ख्यामा पर्यटक पनि इजिप्ट जाने गरेका थिए।
उनले युक्रेन मामिलामा अफ्रिकीहरूले लिएको 'सन्तुलित अडान'को समेत प्रशंसा गरेका छन्।
अफ्रिकन डेभलपमेन्ट ब्याङ्कका अनुसार युक्रेन र रुसले अफ्रिकामा खपत हुने गहुँको ४० प्रतिशत हिस्सा आपूर्ति गर्छन्।
इजिप्ट युक्रेनी गहुँको ठूलो उपभोक्ता मध्येको हो। सन् २०१९ मा यो देशले सबैभन्दा बढी ३६ लाख टन युक्रेनी गहुँ आपूर्ति गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।