काठमाडौं– सरकारले पेट्रोलियम पदार्थमा लिँदै आएको प्रदूषण करलाई छुट्टै कोषमा दाखिला गरी प्रदूषण नियन्त्रणमा खर्च गराउन माग गर्दै रिट दायर भएको छ।
काठमाडौं स्कुल अफ ल मा अध्ययनरत अभ्युदय भेटवाल र छात्रा श्रीना नेपालले रिट दायर गर्दै हालसम्म जम्मा भएको रकम र भविष्यमा उठ्ने रकमलाई छुट्टै कोष खडा गरी प्रदूषण नियन्त्रणका लागि खर्च गर्नका लागि सरकारका नाममा अन्तरिम आदेश जारी गर्न माग गरेका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाउँदै दायर गरिएको रिटमा हालसम्म जम्मा भएको कर प्रयोगमा नआएकाले मौजुदा कानुन विपरीत भएको भन्दै संघीय सञ्चीति कोषमा दाखिल गर्ने निर्णय उत्प्रेषणलगायत आवश्यक आदेश जारी गर्न माग गरिएको छ।
हालसम्म पेट्रोलियम पदार्थमा उठाउँदै आएको प्रदूषण नियन्त्रण कर र भविष्यमा उठ्ने करसमेत छुट्टै कोष खडा गरी जम्मा गर्न/गराउन र उक्त रकमलाई वातावरण प्रदूषण नियन्त्रण तथा रोकथाममै प्रयोग गर्नु/गराउनु भन्दै विपक्षीका नाममा परमादेश जारी गर्न रिटमा माग गरिएको छ।
महालेखाको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६/७७ मा ३ अर्ब २ करोड ९४ लाख संकलन भएको थियो। यस्तै आर्थिक वर्ष २०६५/६६ देखि २०७६/७७ सम्म ९ अर्ब ४३ करोड ६ लाख रुपैयाँ संकलन भएको उल्लेख छ।
रिट निवेदकले यति धेरै रकम सञ्चीति कोषमा जम्मा भएकाले उक्त रकम छुट्टै कोषमा जम्मा गरी प्रदूषण नियन्त्रणमा खर्च गर्न माग गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।