काठमाडौं– गृहमन्त्री बालकृष्ण खाणले पाल्पाको रिब्दिकोटमा भएको बस दुर्घटना तथा सुनसरी र भक्तपुरमा रुख ढल्दा च्यापिएर घाइते भएकाहरूको उपचारबारे चासो लिएका छन्।
सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरूलाई टेलिफोन गरी छुट्टा–छुट्टै दुर्घटनामा घाइते भएकाहरूको उपचारमा कुनै कसर बाँकी नराख्न र थप सहयोग आवश्यक पर्ने भए मन्त्रालयमा जानकारी गराउन निर्देशन दिएका हुन्।
गृहमन्त्री खाणले पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा भएको यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाहरू तत्काल अस्पताल पुर्याएर उपचार गर्न कुनै कसर बाँकी नराख्न पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्थ र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिए।
उनले अस्पताल पुर्याउन थप सहयोग आवश्यक पर्ने भए मन्त्रालयमा जानकारी गराउन पनि भनेका छन्। गुल्मीको मजुवाबाट बुटवलतर्फ आउँदै गरेको बस दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको र १६ जना घाइते भएको प्रजिअ पन्थले जानकारी दिए।
उनले घाइते सबैलाई पाल्पाको मिसन अस्पतालमा पुर्याइएको बताए। दुर्घटनामा तीन पुरुष र तीन महिलाको मृत्यु भएको खुले पनि कसैको पनि सनाखत हुन सकेको छैन। घाइते प्राय सबैलाई गहिरो चोट लागेको प्रजिअ पन्थले बताए।
अर्को बसलाई साइड दिने क्रममा बस सडकबाट साढे दुई सय मिटर तल खोल्सामा खसेको थियो। यता सुनसरीका कोसी टापु बन्यजन्तु आरक्षभित्र रुख ढलेर स्कुटर च्याप्दा एक जनाको मुत्यु र एक जना घाइते भएको घटनाबारे पनि गृहमन्त्री खाणले जानकारी लिएका छन्।
सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई टेलिफोन गरेर घटनाबारे जानकारी लिएका हुन्।
आरक्षभित्र ०१–०२–०४४ प ६६८१ नम्बरको स्कुटरमा सुकेको सिसौंको रुख ढल्दा च्यापिएर धरान उपमहानगरपालिका ११ बसोबास गर्ने २८ वर्षका धिरज तामाङको मृत्यु भएको र स्कुटरमा बसेका २८ वर्षीय सगेन्द्र विष्ट घाइते भएको प्रजिअ यादवले जानकारी दिए।
घाइते विष्टको अहिले विराट नर्सिङ होममा उपचार भइरहेको छ। त्यस्तै भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई च्याप्दा भएका घाइतेहरूको यथाशीघ्र उपचारको व्यवस्था गर्ने भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।