काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्कूल बसमाथि निगरानी बढाएको छ। स्कूल बस निर्देशिका २०७४ मा उल्लेख भएअनुसार सञ्चालन भएको छ/छैन भनेर ट्राफिकले अनुगमन सुरु गरेको हो।
निर्देशिका विपरीत कार्य गर्ने विभिन्न स्कूल बसहरूलाई निगरानी र अनुगमन गरिएको छ। अनुगमनमा विभिन्न विद्यालयका विद्यार्थी बोक्ने बस, मिनीबस तथा भ्यानहरूमा क्षमता भन्दा बढी विद्यार्थी बोकेको, आवश्यक कागतपत्रहरू नराखेको, चालकले मादक पदार्थ सेवन गरी सवारी चलाएको जस्ता कसुरहरू गरेको पाइएको छ।
यसरी निर्देशिका विपरीतका कसुरहरू गरेका चालकहरूलाई नियम अनुसार कारबाही गरिनुका साथै सम्बन्धित विद्यालयका व्यवस्थापन पक्षलाई सचेत समेत गराइएको छ।
यस विषयमा सम्बद्ध पक्षहरू प्याब्सन, एनप्याब्सन र हिसान तथा अभिभावक संघका पदाधिकारीहरूसँग गरिएको छलफलमा भएको सहमतिअनुरूप “स्कूलबस निर्देशिका २०७४” लाई पूर्ण पालना गर्ने/गराउने र यस कार्यलाई आगामी दिनहरूमा समेत प्रभावकारी रूपमा निरन्तरता दिइने सम्बद्ध पक्षहरूले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।