काठमाडौं– वन तथा वातावरणमन्त्री प्रदीप यादवले वनका कारण अवरोध भएका विकास निर्माणका परियोजना अगाडि बढ्ने बताएका छन्।
भरतपुर महानगरपालिकाको कार्यालयमा महानगरकी प्रमुख रेणु दाहाल, चितवनका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ्लगायतसँगको छलफलका क्रममा मन्त्री यादवले वनका कारण अवरोध विकास निर्माणका परियोजना अगाडि बढ्ने बताएका हुन्।
यसका साथै उनले भरतपुर महानरपालिकाले अपनाएको विकासको मोडल देशकै लागि नमुना भएको बताएका थिए।
पछिल्लो पाँच वर्षमा भरतपुरमा अप्रत्यासित ढङ्गले भएको विकासले सबै आश्चर्यचकित भएको बताउँदै मन्त्री यादवले यसबाट अरु स्थानीय तहले पनि पाठ सिक्नुपर्ने बताए।
यसअघि माडी र हुलाकी सडकको अनुगमन गरेको स्मरण गर्दै मन्त्री यादवले हुलाकी सडक विस्तारमा वनबाट भएका अवरोधलाई हटाएर चितवन र पर्सालाई जोड्ने हुलाकी सडक निर्माणको गतिलाई तिव्रता दिनुपर्ने बताए।
वन मन्त्रालयबाट अनुमति नपाएर अगाडि बढ्न नसकेका सम्पूर्ण काम आवश्यक अध्ययन र प्रक्रिया पश्चात फास्टट्र्याकमा काम गर्दै बाधाहरूको समाधान गर्न मन्त्रालयका कर्मचारीहरुलाई उनले निर्देशन पनि दिएका थिए।
हुलाकी सडक निर्माण भएसँगै पर्सा राष्ट्रिय निकुञ्ज भएर ठोरीसम्म पुग्ने पर्यटकहरुको संख्यामा वृद्धि हुने र यसले पर्यटन व्यवसाय गर्नेहरुलाई रोजगारीको सिर्जना गर्ने मन्त्री यादवको विश्वास छ।
मन्त्री यादवले भरतपुर महानगरसहित समग्र चितवन जिल्लाको समृद्धिका लागि वन मन्त्रालयबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
भरतपुरकी मेयर रेणु दाहालले भरतपुरमा रहेको नगर वनको स्वामित्व महानगरपालिकालाई दिनुपर्ने प्रस्ताव राखेकी थिइन्। नगर वनलाई अन्तराष्ट्रिय स्तरको पार्क बनाउने आफ्नो योजना रहेको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।