काठमाडौं– निर्वतमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठन भएको संसदीय विशेष समितिले जेठ १४ गतेको सिंहदरबारको दक्षिण र पूर्वी प्रवेशद्वारमा राखिएका सिसिटीभी फुटेज माग गरेर हेर्ने निर्णय गरेको छ।
यसअघि अर्थ मन्त्रालयसँग उक्त दिनको सिसिटिभी फुटेज माग गरेपछि प्राप्त नभएपछि समितिले यस्तो निर्णय गरेको एक सदस्यले बताए।
दोस्रोपटक सात दिन म्याद थप भएको समितिले अब प्रतिवेदन लेखनका लागि प्रवेशद्वारको बिहानदेखि भोलिपल्ट जेठ १५ सम्मको फुटेज उपलब्ध गराउन सबै निकायमा पत्रचार गर्ने निर्णय गरेको छ।
प्रवेशद्वारमा रेकर्डका उक्त दिनका सवै फुटेजहरु हेर्ने र नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाबाट प्राप्त हुने जवाफमा आधारमा प्रतिवेदन लेख्ने तयारी गरेको छ।
शुरुमा उक्त समितिलाई १० दिनको म्याद दिइएको थियो। उक्त समय सकिएपछि पछिल्लो समयमा एक साताको समय थप गरिएको हो। उक्त अवधिभित्र प्रतिवेदन लेखेर बुझाउने तयारीमा समिति रहेको समितिका सचिव सुरेन्द्र अर्यालले बताए।
तत्कालीन अर्थमन्त्री शर्माले बजेट निर्माणका क्रमम अनधिकृत व्यक्ति प्रवेश गराइ करको दर हेरफेर गराएको आरोप लागेपछि सभामुख अग्नि सापकोटाले संसदीय छानबिन विशेष समिति गठन गरेका थिए।
समिति गठन भएकै दिन शर्माले पदबाट राजीनामा दिएका थिए। उनले प्रतिनिधि सभामा सम्बोधन गर्दै आफूले कुनै पनि गल्ती नगरेको दाबी गरेका थिए।
समिति समक्ष दिएको बयानमा पनि उनले सोही कुरा दोहोराएका छन्। उनको भविष्य अब समितिले दिने प्रतिवेदनमा रहेको छ। समितिले उनलाई क्लिन चिट दिएमा अर्थ मन्त्रालयको जिम्मेवारीमा पुन: आउने चर्चा पनि चलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।