काठमाडौं- प्रतिनिधि सभाको बैठकबाट कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीरण गर्न बनेको विधेयक, २०७६ पारित भएको छ। प्रतिनिधि सभाको आइतबारको बैठकले सो विधेयक पारित गरेको हो।
गृहमन्त्री बालकृष्ण खाणले विधेयक पारित गर्ने प्रस्ताव गरेका थिए। सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको हो।
प्रतिनिधि सभाको आइतबारको पहिलो बैठकमा विधेयकमाथि छलफल भएको थियो। गृहमन्त्री बालकृष्ण खाणले सांसदहरुको जिज्ञासाको जवाफ दिएका थिए।
पहिलो बैठकमै सभामुख अग्निप्रसाद सापकोटाले विधेयकलाई निर्णयार्थ पेस गर्ने प्रक्रिया अगाडि बढाउन खोज्दा नेमकिपाका सांसद प्रेम सुवालले गणपुरक संख्या निश्चित गर्न माग गरेका थिए।
तीन मिनेट घण्टी बजाएर गणपुरक संख्या निश्चित गर्दा केवल ६७ सांसद मात्रै उपस्थित थिए। त्यसपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो।
दोस्रो बैठकमा पनि सुवालले गणपुरक संख्या निश्चित गर्न आग्रह गरेका थिए। दोस्रो पटक भने ७१ सांसद उपस्थित भएका थिए।
गणपुरक संख्या पुगेसँगै विधेयक पारित गर्ने प्रक्रिया अगाडि बढेको थियो। कुनै प्रस्ताव वा प्रश्न निर्णयार्थ प्रस्तुत गर्न एक चौथाइ सदस्य आवश्यक पर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।