काठमाडौं– एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा कम्युनिस्ट सरकारको पालामा एमसीसी र एसपीपी जस्ता कार्यक्रम भित्र्याइएको बताएका छन्।
त्यस्तै उनले एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दे दक्षिणको प्रभावमा रहेको कांग्रेससँग रहेर एमसीसी पास गर्न लागेकोमा आफूहरूले रोकेको बताएका छन्।
एकीकृत सामजवादी निकट पुष्पलाल ज्ञान केन्द्रले राजधानीमा आयोजित विश्वको भू–राजनीतिक तनाव र नेपालको परिस्थिति कार्यक्रममा वक्ताको रुपमा बोल्दै नेपालले उक्त कुरा बताएका हुन्।
‘कम्युनिस्ट पार्टीको सरकार भएको बेला एमसीसी नेपाल भित्र्याइयो, भित्र्याउने मात्र हैन त्यसलाई आइपीएससँग जोड्ने स्थिति पनि बन्न पुग्यो। तत्कालीन नेकपाभित्र त्यसको विरुद्ध जोडदार आवाज उठ्यो। आवाज उठि सकेपछि एक ढङ्गको स्थिति अर्कै ढङ्गमा पुग्यो, सरकार बदलियो,’ नेता नेपालले भने,‘सरकार पाँचदलीय गठबन्धनको हातमा पुग्यो। सत्तामा पुगेपछि एमसीसी पास गर्नुपर्ने कुरा उठ्यो। हामी एमसीसी यथास्थितिमा पास गर्नु हुँदैन भन्ने अनि कम्युनिस्ट पार्टी भनेको एमाले र नेपाली कांग्रेस जो पश्चिमा शक्तिको प्रभावमा र दक्षिणको प्रभावमा रहेको छ। त्यस्ता दलहरू मिलेर पास गर्न स्थितिमा झन्नै पुगे।’
प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेको कुरा अस्विकार गरेकाले व्याख्यात्मक घोषणा गरेर एमसीसी स्विकारकोले यसले आफूहरूलाई ठूलो ढाडस दिएको नेता नेपालले बताएका छन्।
‘एमालेको कुरालाई शेरबहादुर देउवाले अस्विकार गरेकोले जटिल मोडमा पुगेको थियो। त्यस्तो जटिल मोडलाई हामीले ध्यानमा राखेर व्याख्यात्मक टिप्पणी गर्यौं। जहाँ सबै प्रतिबद्धताहरू रहेका छन्,’ नेता नेपालले भने,‘व्याख्यात्मक बुँदामा आर्थिक सहायता बाहेक, सैनिक संग्लनता छ भने स्विकार गर्दैन भनेका छौं। यो प्रतिबद्धताले ठूलो ढाडस दियो।’
एसपीपी पनि नेकपाको सरकार रहेको बेला केपी ओलीले स्विकार गरेको कुरा बिडम्बना रहेको बताएका छन्। तर त्यसलाई पनि प्रचण्ड र आफू भएर रोक्न प्रधानमन्त्री देउवालाई भनेको र सरकार पत्र पठाउने विषयमा तयार भएको बताएका छन्। यद्यपि अहिलेसम्म उक्त पत्र नपठाएकोमा प्रधानमन्त्रीलाई पुन: ध्यानाअकर्षण गराएको पनि बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।