काठमाडौं- सांसद हृदयेश त्रिपाठीले आगामी चुनावमा संविधानको स्तम्भमाथि नै प्रहार हुने गरी चुनावी मुद्दा वा नारा बन्ने आंकलन गरेका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा सम्बोधन गर्दै उनले संघीयता, गणतन्त्र र धर्म निरपेक्षतामाथि प्रहार गर्ने नारा लाग्ने बताएका हुन्।
'संघीयताको खारेजी, गणतन्त्रमाथि प्रहार, धर्म निरपेक्षतामाथि प्रहार, दुई दलीय व्यवस्थाको विक्षिप्त वकालत जस्ता विषयहरुलाई कथित जिम्मेवार दलहरुले नै नारा बनाइ निर्वाचनमा जाने लक्षण देखिँदै छ', उनले भने।
त्रिपाठीले थपे- 'राजनीतिकशास्त्र र समाजशास्त्र दृष्टिकोणले हेर्ने हो भने आफूहरुले गतिलो काम गर्न नसकेको, अग्रगमन तथा दूरदृष्टिको अभावको कारण यसप्रकारका प्रतिगामी नाराको सहारा लिनमा दलहरु लिप्त भएका हुन्, हुन्छन् र भएका छन्।'
त्रिपाठीले प्रगतिशील अजेन्डा नरुचाएकाहरुको बाहुल्यता रहेको बताए। 'तर ख्याल रहोस्, यस प्रकारको कुप्रभावको भावनाले लोकतन्त्र नै जोखिममा पर्न सक्दछ। किनभने 'आलीले नै बाली खाएपछि' त्यो बाली बचाउन सकिन्न', उनले भने।
उनले अहिले किस्ताबन्दीमा प्रहार अरु–अरु विषयमा भए पनि समग्रमा र होलसेलमा प्रहार अन्ततोगत्वा लोकतन्त्रमाथि नै हुने बताए। हिन्दी गीत सम्झाउँदै उनले 'जाने कहाँ गए वो दिन' भनेर गाउनुपर्ने स्थिति आउला भन्ने चेतावनी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।