काठमाडौं– नेकपा एमालेकी सांसद शान्ता चौधरीले मुक्तकमैया र मुक्तकमलरीको यथाशिघ्र पूर्नस्थापना गर्न माग गरेकी छन्।
त्यस्तै एमालेको सरकारले ल्याएको पूर्नस्थापनाको कार्यक्रम वर्तमान सरकारले काटेकोमा आपत्ति जनाउँदै छिटो उक्त कार्यक्रम ल्याउन माग पनि गरेकी छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा बोल्दै सांसद चौधरीले उक्त माग गरेकी हुन्।
‘कमैया मुक्त भएको २२ वर्ष र कमलरी मुक्त भएको ९ वर्ष पुगिसक्दा पनि अझै कमैया–कमलरीको उचित पूर्नस्थापना हुन सकेको छैन। यसअघिको सरकारले मुक्तकमैया र मुक्तकमलरीको छोराछोरीलाई पूर्नस्थापना र शैक्षिक विकासका लागि बजेट ल्याए पनि अहिलेको गठबन्धन सरकारले कटौती गरेको छ’ चौधरीले भनिन्,‘सभामुख महोदय मार्फत सरकारलाई मुक्तकमैया र मुक्तकमलरीको यथोचित पूर्नस्थापनाको माग गर्दछु।’
त्यस्तै, सांसद चौधरीले सरकारले मुक्तकमलरीहरूसँग गरेको सम्झौता कार्यान्व्यन गर्न पनि माग गरेकी छन्। चौधरीले भनिन्,‘सरकार र मुक्तकमलरीहरूसँग भएको १० बुँदै सहमति यथाशिघ्र कार्यन्व्यन गरोस् सरकारले भनेर जोडदार माग गर्दछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।