काठमाडौं– जिल्ला समन्वय समिति बाजुरामा नेकपा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्। जम्मा ९ पालिका रहेको बाजुरामा एमाले एक्लैका १२ मतदाता रहेका थिए।
सबै पालिकाबाट गरी १८ मतदाता रहेकोमा एमाले एक्लैको १२ मतसहित बहुमत भएपछि अन्य ६ मतदाता रहको कांग्रेसले उम्मेदवारी दिएन।
समन्वय समिति प्रमुमा एमालेका तुलसीराम रोकाया र उपप्रमुखमा लाछु सार्की निर्विरोध निर्वाचित भएका हुन्। यस्तै खुला सदस्यमा हिक्मतबहादुर थापा, मनराज भण्डारी र लालबहादुर महतरा निर्वाचित भएका छन्। महिला सदस्य, दलित सदस्यमा पनि एमालेकै उम्मेदवार निर्वाचित भएका छन्।
महिला सदस्यमा कल्चुदेवी रावत, कल्धरा बुढा र लक्ष्मी बुढा साउँद तथा दलित सदस्यमा रम्बदेवी विक निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
आठवटा तहको निर्वाचन पहिले भए पनि बुढीगंगा नगरपालिकाको निर्वाचन भने असार २३ गते भएको थियो। आइतबार जिल्ला समन्वय समितिका निर्वाचित पदाधिकारी र सदस्यको शपथग्रहण भएको निर्वाचन कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।