जनकपुर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नागरिकताको समस्या समाधान भएको बताएका छन्। शनिबार सर्लाहीको बागमती नगरपालिकास्थित सोल्टी बजारमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकताको समस्या समाधान भएको बताएका हुन्।
साथै उनले नागरिकता विधेयक पास भएर लामो समयदेखि रहेको समस्या समाधान भएकोमा आफू निकै उत्साहित भएको पनि बताएका छन्।
उनले भने, ‘नागरिकता विधेयक पास भएपछि जनताको समस्या समाधान भयो। यसबाट म निकै उत्साहित भएको छु।’
शुक्रबार प्रतिनिधि सभामा सरकारले पेस गरेको नागरिकता विधेयक बहुमतले पारित गरेको थियो। लामो समयदेखि विवादित बनेको उक्त विधेयक शुक्रबार पारित भएको हो। उनले मधेशका जनताको मुख्य समस्याका रुपमा रहेको नागरिकताको समस्या अब समाधान भइसकेको दाबी गरे।
उनले तराई–मधेशको नागरिकतासम्बन्धी समस्या सम्वोधन गर्ने प्रतिबद्धताअनुसार नै नागरिकता विधेयक ल्याएर सरकारले बाचा पूरा गरेको जिकिर गरे।
‘६ लाख बढी युवा नागरिकताविहीन बनेको अवस्थामा सरकारले नागरिकता विधेयक पास गराएर घाउमा मल्हमपट्टी लगाउने काम गरेको छ,’ उनले भने। कार्यक्रममा उनले चुनावी वामपन्थी मोर्चा बनाउन कुरा छिट्टै निष्कर्षमा पुग्ने घोषणा पनि गरेका छन्।
साथै उनले दिल्लीमा कांग्रेस नेतृ आरजु देउवा र आफूबीच कुनै प्रकारको सम्झौता नभएको दावी गर्दै षड्यन्त्रकारीले भ्रमपूर्ण हल्ला फैलाएको बताए।
उनले भने, ‘केही षडयन्त्रकारीहरुले यसलाई तन्काएर षडयन्त्रपूर्ण तरिकाले उठाउन खोजेका हुन्। यसमा कुनै पनि प्रकारको सत्यता छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।