काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली राजनीतिमा वैकल्पिक शक्ति बन्नका लागि भर्खरै खुलेका नयाँ दलहरुले केही गर्न नसक्ने बताए।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले परिवर्तनका लागि महत्वपूर्ण योगदान दिएका कांग्रेस, एमाले जस्ता पार्टीहरुलाई त काम गर्ने मुस्किल परिरहेको अवस्थामा नयाँ दल खोल्नेहरुले केही गर्न नसक्ने टिप्पणी गरे।
'हिजो के–के न गर्छु भनेर काठमाडौंमा चुनाव लड्न आएका नेताले समाज र देश परिवर्तन गरे कि आफू परिवर्तन भए, त्यो कुरा अब पनि भनिरहनु पर्दैन,' उनले भने, 'चुनाव लड्नका लागि मात्रै पार्टी खोल्नेहरु र नागरिकको अधिकारको लागि बलिदान दिएका, खारिएर आएका, जेल गएका पार्टी र नेताहरुका बारेमा हल्का रुपमा तुलना गर्न हुँदैन।'
अहिले धमाधम गठन भईरहेका नयाँ पार्टीले समाजमा अनावश्यक भ्रम फैलाउन खोजेको बताउँदै सिंहले हिजो लोकतन्त्र ल्याउन बलिदान दिएका दलहरुको भूमिका ओझेलमा पार्न खोजिएको बताए।
काम केही नगर्ने सामाजिक सञ्जालमार्फत नेता बन्ने लहर चलेकाले रहर गर्नु नराम्रो नभए पनि राजनीति आन्दोलनमा कहिँ नदेखिने उनको दावी छ। जनतालाई समस्या पर्दा कतै नभेटिनेहरुले कसरी देश र जनताको सेवा गर्छन् भनेर उनले प्रश्नसमेत गरे।
नेता सिंहले कांग्रेसले अवसर पाउँदा आफ्नो भूमिका निभाएकाले कांग्रेस मात्रै यो मुलुकको लागि हितकारी भएको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।