काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता स्वार्थ र राजनीतिक स्वार्थका लागि कांग्रेसले आफ्नै अग्रजको सम्मान गर्न नसकेको आरोप लगाएका छन्।
शनिबार कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४ औं स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
उनले नेपाली कांग्रेसले प्रजातान्त्रिक लडाइँमा शहीद भएकाहरुलाई उचित सम्मान दिन नसकेको आरोप लगाए। उनले भीमदत्त पन्तलगायतका शहीदलाई कहिल्यै आफ्नो शहीद नमानेको भन्दै कांग्रेसलाई भीमदत्त पन्तको नाम लिँदा पनि सिरिङ्ग हुने बताए।
अध्यक्ष ओलीले नेपाली कांग्रेसको तर्फबाट आन्दोलन गर्दा यज्ञबहादुर थापा, भीमनारायणहरुलाई फाँसीको सजाय सुनाइए पनि कांग्रेसले एउटा विज्ञप्ति पनि निकाल्न नसकेको बताए।
उनले सत्ता स्वार्थ र राजनीतिक स्वार्थका लागि कांग्रेसले आफ्नै अग्रजको सम्मान गर्न नसकेको आरोप लगाए। अध्यक्ष ओलीले गिरिजाप्रसाद कोइराला कम्युनिष्ट नेता मनमोहन अधिकारीबाट प्रेरित भएर कम्युनिष्ट कार्यकर्ताको रुपमा राजनीतिमा लागेको दाबी गरे।
यस्तै ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा पूरा गरिछाड्ने दाबी गरेका छन्। उनले अहिले पनि देशको परिवर्तनकारी र बलियो शक्ति पुष्पलालले नै स्थापना गरेको पार्टी नेकपा एमाले रहेको दाबी गरे। उनले पार्टी अध्यक्षको हैसियतमा आफू पुष्पलाल र अन्य अग्रजहरुले देखाएको बाटोबाट विचलित नहुने प्रण गरे।
अध्यक्ष ओलीले देशको सबैभन्दा सचेत, संगठित, सबल, विस्तृत, परिवर्तनकारी शक्ति नेकपा एमाले नै रहेकोले पार्टीलाई अझै सशक्त बनाएर लैजाने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।