काठमाडौं– नेकपा एमालेका नेता एवम् सांसद भीम रावलले नागरिकताका सन्दर्भमा गठबन्धन सरकारले खेलबाड गरेको आरोप लगाएका छन्। शुक्रबारको प्रतिनिधि सभाबाट नागरिकता ऐन, २०६३ को पहिलो संशोधन विधेयकप्रति पनि रावलले आपत्ति जनाएका छन्।
देशको दीर्घकालीन अस्तित्वसँग गाँसिएको नागरिकता विषयमा ४५ जना सांसदका ९४ संशोधन प्रस्ताव हुँदाहुँदै संसदीय समितिमा छलफल गर्न नदिएर गठबन्धन सरकारले हतार हतारमा विधेयक पारित गरेको रावलको टिप्पणी छ।
नेपालको संविधान बनाउने बेला प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले नेपाली नागरिकसंग विवाह गर्ने विदेशी महिलाले नेपाली नागरिकता लिनका लागि ५ देखि ७ वर्ष निरन्तर नेपालमा बसोवास गरेको हुनुपर्ने प्रावधान संघीय कानुनमा राख्ने भनेर सहमति गरेपनि अहिले उक्त सहमति लत्याइएको रावलको भनाइ छ।
'निहित सत्ता स्वार्थ पूर्ति गर्न वाह्य शक्तिप्रति भक्ति गर्दै नेपालको दीर्घकालीन अस्तित्वमाथि नै खतरा निम्त्याए। जनसंख्याको राजनीतिबाट नेपालको अस्तित्व र स्वाधीनतालाई क्रमशः सिध्याउने खेलका मतियार बने,' रावलले सामाजिक सञ्जालमा लेखेका छन्, 'यस्तो कार्य निन्दनीय छ।'
देशको हितका लागि गर्नुपर्ने काम गर्दै नगर्ने वा त्यसमा ढिलाई गर्ने, तर देश हितमा आँच पुर्याउने काम रातारात हतारमा गर्ने नेपालका शीर्ष भनिने नेताहरुको कारण नेपाल राज्य अत्यन्त कमजोर हुँदै गइरहेको रावलको भनाइ छ। रावलले देशहित विपरीतका कामको सशक्त विरोध गर्न पनि आह्वान गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।