मलंगवा-सर्लाहीको पर्सा गाउँपालिका-१ शीतलपुरमा एक महिलाको हत्या गरी गाडिएको अवस्थामा ४८ दिनपछि शुक्रबार फेला परेको छ। शीतलपुर निवासी बालदत्त भन्ने रमजेशकुमार रायले आफ्नै २० वर्षीया श्रीमती निशा यादवको हत्या गरी धान खेतमा गाडेको अवस्थामा शव फेला परेको हो।
महिला हराएको निवेदन जिल्ला प्रहरी कार्यालय सर्लाहीमा माइती र ससुराली (घर) पक्षले दिएपछि खोजीमा जुटेको प्रहरीले ४८ दिनपछि धान खेतमा शव गाडिएको अवस्थामा फेला पारेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।
हत्यामा संलग्न मृतक निशा यादवका श्रीमान् रमजेशकुमार राय, ससुरा रामप्रताप राय र देवर राजु यादवलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए। निशाका घरका सदस्यहरुमाथि प्रहरीको शंका लागेपछि प्रविधियुक्त विश्लेषण गर्ने क्रममा हत्यामा संलग्नहरुको पहिचान हुन सकेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता यादवले जानकारी दिए। ससुराली पक्षले निशाको हत्या गरी आफ्नै धान खेतमा खाल्डो खनी गाडेको थियो। सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलसमेत अनुसन्धान टोली घटनास्थलमा पुगेर धान खेतमा खाल्डो खन्दा सडिसकेको अवस्थामा शव फेला परेको हाे। निशालाई ग जेठ २२ गतेका दिन नै हत्या गरिएको प्रहरीले जनाएको छ।
महोत्तरी सोनमा गाउँपालिका–१ मगरथाना निवासी निशा यादवको गत वर्ष फागुनमा रमजेशकुमार रायसँग बिहे भएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।