काठमाडौं– थाइल्यान्डको बैंककमा भएको एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा सहभागी भइ नेपाली जुडो टोली स्वदेश फर्किएको छ।
साउन १ गतेदेखि सुरु प्रतियोगिताको क्याडेटमा २ तथा जुनियरमा २ गरी ४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। क्याडेटको पुरुष ५५ केजीमुनि ताराबहादुर भुजेलले पहिलो चरणमा थाइल्यान्डका खेलाडीबाट वाकओभर पाए।
त्यसपछि उनी काजाकिस्तान र ताइपेईंका खेलाडीसंग पराजित भए। महिला ४८ केजीमुनि निशा श्रेष्ठ पदकनजिक पुगेकी थिइन्। रिपाचेजमा निशा काजाकिस्तानकी खेलाडीसँग चुकिन्।
त्यो भिडन्त जितेको भए निशाको काँस्य पदक पक्का हुने नेपाल जुडो संघका उपाध्यक्ष सूर्यनारायाण श्रेष्ठले जनाएका छन्। रिपाचेजअघि निशा उज्वेकिस्तानकी खेलाडीसँग पछि परेकी थिइन्।
जुनियरको पुरुष ६० केजीमुनि मंगोलियाका खेलाडीले उत्तम प्रधान श्रेष्ठलाई हराए। महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठले पहिलो खेलमा भारतकी खेलाडीलाई पराजित गरिन्।
सेमिफाइनलमा देवकीले काजाकिस्तानकी खेलाडीसँग पराजय व्यहोरे पनि रिपाचेजमा पुनः अवसर पाइन्। काँस्य पदकका लागि भएको रिपाचेजमा देवकी उज्वेकिस्तानकी खेलाडीसँग चुकिन्। देवकी र निशा दिदीबहिनी हुन्। नेपालबाट सहभागी चारै खेलाडी बन्दी सहायता नियोग (पाम) का उत्पादन हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।