काठमाडौं–नेपाली काग्रेसका सांसद गगन थापाले गैरनागरिकले नागरिकता लिने डरले आमाहरुलाई भारी बोकाउन नहुने बताएका छन्। नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्।
उनले गैरनागरिकले नागरिकता प्राप्त गरे सजाय गर्न अभिलेख राख्ने र कारबाहीको डर हुने निकाय पनि बनाउनुपर्ने सुझाव दिए। प्रतिनिधि सभामा छलफल भइरहेको विधेयकमा आएका संशोधनहरुलाई पनि समेट्न उनले गृहमन्त्री बालकृष्ण खाणसँग आग्रह गरे।
‘यो विधेयक पारित भएपछि नागरिकता पाउलान् तर यहाँ भएका केही व्यवस्थाले झन झन्झट थपिने हो कि भन्ने डर लागेको छ ’ उनले भने, ‘स्वघोषणाजस्ता व्यवस्थाहरुले प्रशासनिक रुपमा नागरिकले दुःख पाउने छन्। आमाहरुले दुःख पाउने छन्।’ यहाँ आएका संशोधनलाई स्वीकार गरेर स्वघोषणालाई सहज बनाउन उनले माग गरे।उनले आमाले दिँदा खोजिने र बुबा हुँदा नखोजिने कुरा संविधान निर्माणदेखि नै विभेद भएको भन्दै अब यसलाई संशोधन गर्नैपर्ने बताए ।
नेपाली पुरुषले विवाह गरेलगत्तै महिलाले नागरिकता पाउने व्यवस्था राजा वीरेन्द्र शाहको समयदेखि भएको उनले बताए। केपी शर्मा ओलीले अध्यादेश ल्याउँदा पनि यही व्यवस्था भएकोमा अहिले ल्यायो भनेर तर्क गर्न नमिल्ने दाबी उनले गरे। उनले विवाहका आधारमा कति महिलाले नागरिकता पाएका छन् भन्ने तथ्यांक आयो भने छलफलका लागि सहज हुने उनले बताए। उनले अभिलेख राख्ने र निरन्तर रुपमा छानबिन गर्ने कार्य हुनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।