काठमाडौं–एमालेनिकट अनेरास्ववियुले आगामी असोज १ देखि ३ गतेसम्म विधान महाधिवेशन तथा राष्ट्रिय भेला गर्ने भएको छ। कीर्तिपुरमा सम्पन्न केन्द्रीय कमिटी पदाधिकारीको १० औं बैठकले यस्तो निर्णय गरेको हो। अनेरास्ववियुले ‘जीवनउपयोगी वैज्ञानिक शिक्षा नीति र सुदृढ संगठन, सुखी नेपाली समृद्द नेपाल निमार्णको आधारका लागि तेस्रो नीति तथा विधान अधिवेशन' भन्ने नाराका साथ तेस्रो नीति तथा विधान महाधिवेशन गर्न लागेको हो।
एमाले स्थायी कमिटी सदस्य एवं मोर्चा फाँट प्रमुख भानुभक्त ढकालको प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य एवम् विद्यार्थी ईञ्चार्ज माधव ढुंगेलको आतिथ्यता र संगठनका अध्यक्ष सुनिता बरालको अध्यक्षतामा बसेको बैठक विविध निर्णय गर्दै सम्पन्न भएको हो।
बैठकले साउन महिनाभित्र जिल्ला कमिटी र सो मातहतका सम्पूर्ण कमिटीहरुको बैठक, भेला र अधिवेशन सम्पन्न गर्ने, प्रदेश कमिटीहरुले भदौ १५ गतेभित्र प्रदेशस्तरीय प्रशिक्षण तथा भेला गर्ने, भदौ १५ गतेभित्र विश्वविद्यालयय राष्ट्रिय कमिटीहरुका सम्मेलन÷भेला÷पुनर्गठन गरिसक्ने निर्णय गरेको छ।
त्यसैगरी, विश्वविद्यालयहरुमा अनिवार्य रुपमा नियमित स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउन केन्द्रीय तहमा केन्द्रीय कमिटीले र क्याम्पस तहमा स्ववियु निर्वाचनको आवश्यकताको सन्दर्भमा प्रत्येक क्याम्पसले रचनात्मक दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने र आसन्न संघ र प्रदेशको निर्वाचनका सन्दर्भमा देशैभरि नयाँ मतदाता नामावली दर्ता अभियान सञ्चालन गर्ने निर्णय गरिएको अनेरास्ववियुले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।