काठमाडौं– नेकपा एमालेकी सांसद विन्दा पाण्डेले वैवाहिक अगिंकृत नागरिकताको सन्दर्भमा नेपाली नागरिकसँग विवाह गरेका विदेशीले नेपालमा सात वर्ष बसेपछि लैंगिक समानताको आधारमा नागरिकता दिने प्रावधान राख्न माग गरेकी छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि भइरहेको छलफलमा भाग लिँदै सांसद पाण्डेले संघीय लोकतान्त्रिक गणतन्त्रमा कोही पनि नागरिक अनागरिक हुन नहुने बताइन्।
तर राष्ट्रको सार्वभौमिकता, स्वाधिनता र स्वाभिमानको आधारमा नागरिकहरुलाई स्थापित गर्नका लागि प्रस्तुत विधेयक संशोधन हुनु पर्ने सांसद पाण्डेले बताएकी छन्।
वैवाहिक अंगिकृत नागरिकलाई सीमाविहीन व्यवस्थामै जानुले पहिचान गर्न समस्या हुने बताइन्। यस्तो व्यवस्थाले वर्षौंदेखि नागरिकताका लागि कुरेर बसेका विदेशी नागरिकका सन्तानले सहजै रुपमा नागरिकता प्राप्त गर्ने सक्ने भएकाले संशोधन गर्न उनले माग गरिन्।
'वैवाहिक अंगिकृत नागरिकतालाई सीमाविहीन बनाउनु भनेको सत्ता मोहको आधारमा गरिएको समझदारी हो। यस विषयमा संसद्ले जवाफ दिनुपर्छ', उनले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।