काठमाडौं– राष्ट्रिय जनमोर्चाकी सांसद पौडेलले जन्म र विवाहकै आधारमा नागरिकता दिँदा कुनै दिन नेपाली नै नेपालमा अल्पमतमा पर्ने बताएकी छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा नागरिकता विधेयकमा संशोधन राख्दै उनले यस्तो बताएकी हुन्।
‘हाम्रा छिमेकमा ठूला दुई देश छन्। खुला सीमाना छ। यसरी जन्म र विवाहकै आधारमा दिने हो भने हामी नेपाली अल्पमतमा पर्न सक्छौं। यो राष्ट्रघाती र आत्मघाती हुन्छ,’ पौडेलले भनिन्।
विवाह गरेकै आधारमा नागरिकता दिने वा जन्मकै आधारमा वंशजको नागरिकता पाउने कुनै विधिशास्त्र र सिद्धान्तमा नभएको पौडेलको भनाइ छ। भएमा बुझ्नेगरी जवाफ दिन गृहमन्त्री वालकृष्ण खाणसँग अनुरोध गरिन्।
नेताहरुलाई नै कटाक्ष गर्दै उनले भारतमा चुनाव हारेर नेपालको नागरिक हुनेगरी नागरिकता बाँड्न नहुने बताइन्।
विदेशी महिलाहरुले विवाह गरेर आएपछि कति समय दिने भन्नेबारे सबै देशले अलग-अलग नियम बनाएकाले ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिनुपर्ने बताइन्।
‘नागरिकता राष्ट्रियतासँग जोडिएको छ। कठोर बनाउनुपर्छ भनेर हामीले संविधानमा सहमति जनाएको हौं। संशोधनसहित समर्थन गरेका थियौं,’ पौडेलले भनिन्।
पुर्खाले रगत बगाएर वंशज स्थापित गरेको बताउँदै जन्मकै आधारमा वंशजको नागरिकता दिनु गलत हुने पौडेलको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।