काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिकता विधेयकबारे सबैको भिन्न दृष्ट्रिकोण रहेकाले छलफल गर्न सकिने बताए।
हेटौंडामा शुक्रबारदेखि सुरु भएको कांग्रेस निकट नेपाल प्रेस युनियनको नवौं महाधिवेशनलाई सम्बोधन गर्दै थापाले संसद्मा पेस भएको नागरिकता विधेयकमाथि विभिन्न कोणबाट छलफल गर्न सकिने बताएका हुन्।
नागरिकता विधेयकबारे आम सञ्चार माध्यममा आएका विषयका सन्दर्भमा नागरिकहरुले आफ्नो मत बनाउने भएकाले तथ्यगत कुरा सम्प्रेषण गर्न प्रेस युनियनमा आबद्ध पत्रकारहरुलाई अनुरोध गरे।
नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले नागरिकता कहिले प्राप्त गर्ने भन्ने कुरा छलफलको विषय भएको महामन्त्री थापाको भनाइ छ।
उनले भने, 'छलफलका विषयलाई सहि ढंगले सम्प्रेषण सकेनौं भने, धेरै नागरिकहरुको मत मत शेरबहादुर देउवा नेतृत्वको सरकारले हुँदै नभएको व्यवस्था लागू गर्न खोज्यो भन्ने बन्न सक्छ। त्यसैले सूचनालाई सही ढंगले प्रस्तुत गर्न तपाईंहरुको भूमिका महत्त्वपूर्ण रहन्छ।'
तत्कालीन राजा वीरेन्द्रको पालामा २०३८ सालमै बनेको नागरिकता ऐनको प्रावधान २०४७ सालको संविधान, अन्तरिम संविधान २०६३ र २०७२ सालको संविधानमा समेत समावेश भएको उनले बताए।
केपी शर्मा ओली नेतृत्वको सरकारले संसद्मा दर्ता गरेको नागरिकता सम्बन्धी विधेयकमासमेत उहि कुरा आएको बताउँदै त्यसबारे छलफल हुने थापाले बताए।
तर, सञ्चार माध्यमले आम मानिसहरुलाई सत्य–तथ्य सूचना प्रवाह गरी नागरिकता विधेयकबारे रहेका भ्रम र उत्तेजना कम गर्नुपर्ने नेता थापाको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।