काठमाडौं– नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मरणमा शुक्रबार विपी स्मृति दिवस मनाइएको छ।
कोइरालाको ४० औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालमा वृक्षारोपण गरेको छ।

नेपाल विद्यार्थी संघ त्रिविको आयोजनामा विपीको स्मृति दिवसमा पर्यावरण जोगाउने उद्देश्यका साथ वृक्षारोपण गरिएको नेविसंघका नेता तेजविक्रम देवकोटाले जानकारी दिए।
बढ्दो जलवायु परिवर्तनका कारण मुलुकमा त्यसको असर परेका कारण वृक्षारोपण गर्दा पर्यावरण सन्तुलन गर्न सकिने र विपीको आदर्शलाई जीवन्त राख्न सकिने देवकोटाको भनाइ छ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि आजीवन सङ्घर्ष गरेका नेता कोइरालाको वि.स. २०३९ साल साउन ६ गते निधन भएको थियो।

प्रत्येक वर्षको साउन ६ गतेलाई विपी स्मृति दिवसका रूपमा मनाउने गरिन्छ। उनको स्मृति दिवसको अवसरमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेर बहादुर देउवा लगायतका नेता कार्यकर्ताले विपीप्रति श्रद्धासुमन व्यक्त गरेका छन्। विपीले राजनीतिका साथै साहित्यका क्षेत्रमा समेत महत्वपूर्ण योगदान पुर्याएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।