काठमाडौं– दुबईबाट भारत हुँदै आएको कन्टेनरमा ठूलो मात्रामा विदेशी चुरोट बरामद भएको छ। वीरगञ्ज भन्सार कार्यालयले उक्त चुरोट बरामद गरेको हो।
मुङ्गको दाल भनि जाँचपास गराउन खोजेको कन्टेनरमा ५८ लाख भन्दा धेरै गुडाङ गरम र मोन्ड भेरियन्स ब्रान्डको चुरोट फेला परेको हो। गुडाङ गरम नामको विदेशी तस्करी गरिएको चुरोट अहिले पनि बजारमा छ्यापछ्याप्ती पाइने भए पनि यसरि भन्सारमा तस्कारी हुँदै गर्दा पकडमा आएको भने पहिलो घटना हो।
नेपालमा विगत ५ वर्षमा चुरोटमा लाग्ने कर २ देखि ४ गुणा हुने गरी बढाएपछि अहिले चुरोट एक दमै महंगो भएको कारणले र अत्याधिक कर लाग्ने भएकोले तस्करी गर्दा अत्याधिक फाइदा हुने हुनाले चुरोटको तस्करी ह्वात्तै बढेको छ। चुरोट एउटा यस्तो वस्तु हो जसको उत्पादन गर्न लाग्ने लागत भन्दा करको भार उल्लेख्य रुपमा बढी हुन्छ।
नेपालमा उत्पादन भइ विक्री हुने चुरोटमा कुल विक्री मूल्यको ५५ देखि ७० प्रतिशतसम्म कर लाग्ने गरेको छ। चुरोटमा अन्तशुल्क, स्वास्थ्य जोखिम कर, मूल्य अभिवृद्ध कर, भन्सार, अन्तशुल्क स्टिकर लगायतका कर असुल गरिने गरेको छ।
हुन त अहिले पनि काठमाडौंको मुख्य बजार क्षेत्रमा विदेशी गैरकानुनी चुरोट हरेक जसो पसलमै पाइन्छ। स्वदेशी चुरोट भन्दा सस्तो पर्ने, प्याकेजिन्ङमा देख्दै फोहोर देखिने चित्र नहुने, व्यापारीलाई धेरै फाइदा हुने आदि कारणले यी गैर कानुनी चुरोटले बजार लिएको देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।