काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नेपालमा प्रदेश सरकारको आवश्यकता नभएको बताएका छन्।
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष थापाले केन्द्र सरकारलाई बलियो बनाउनुका साथै स्थानीय सरकारलाई अधिकार सम्पन्न गराउने हो भने प्रदेश सरकारको आवश्यकता नभएको बताए।
बिहीबार उनको पार्टीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले निर्वाचन प्रणाली पनि परिवर्तन गर्नुपर्ने बताए।
अहिलेको निर्वाचन निकै खर्चिलो भएका कारण पूर्ण सामानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने उनको भनाइ छ।
उनले भने, ‘पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्दछ। संघीयताको वर्तमान स्वरुपलाई आमूल परिवर्तन गरेर केन्द्रमा एउटा बलियो सरकार र स्थानीय तहमा अहिलेकोभन्दा पनि बढि अधिकार सम्पन्न स्थानीय सरकार गरी दुईवटा तहको संघीय स्वरुप कायम गर्न उपयुक्त हुन्छ। र, प्रदेश सरकारको आवश्यक्ता छैन भन्ने हाम्रो पार्टीको स्पष्ट मान्यता रहेको छ।’
अध्यक्ष थापाले राष्ट्रवादी शक्तिहरुबीचको बलियो एकताबाट मात्रै मुलुकको समृद्धि र विकास सम्भव हुने दाबी गरे। उनले आफ्नो पार्टी मुलुकको वैकल्पिक राजनीतिक शक्ति भएको जिकिरसमेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।