काठमाडौं– कांग्रेसले पार्टीभित्र सुधारको ढोका खोलेको छ। कांग्रेस कार्यसमिति बैठकमा विभिन्न अजेन्डामा छलफल भए। मुख्यतः सरकार र स्थानीय तहको निर्वाचनबारे समीक्षा भयो। त्यहाँ जुन किसिमको वातावरण थियो, त्यो ऊर्जामय थियो।
त्यहाँ असहमतिका धेरै आवाज गुञ्जिए। त्यस्तो कुरा नेपाली कांग्रेसभन्दा बाहेकका दलमा सुन्न छाडियो। अहिले केपी शर्मा ओलीको विरुद्धमा उनको केन्द्रीय कमिटी बैठकमा कसैले पनि बोल्न सक्दैनन्। प्रचण्डजीको पार्टीमा पनि करिब त्यही हालत छ। तर, यसपालिको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले कांग्रेसको भविष्यलाई जोगाएको लक्षण देखिन्छ।
कांग्रेसमा महामन्त्रीहरुले सक्रिय भूमिका खेलेका छन्। शेरबहादुरजीले उदार भावले पार्टीभित्र एक हप्ता बहससमेत चलाउनुभयो। बोल्नेहरु पनि झण्डै १०० ‘प्लस’ पुगेका छन्। गर्मागर्मी बहस, छलफल भए। गठबन्धन गर्नुपर्छ कि पर्देन? यहाँबाट बहस सुरु भएको छ। स्थानीय तहको निर्वाचन ठीक किसिमले गयो कि बेठिक किसिमले गयो? छलफल भयो। सरकारले गरेका कयौं निर्णयमाथि पदाधिकारीबाटै चुनौती दिइएको छ।
शेखर कोइरालाले त १२ बुँदे प्रस्ताव राखेर कांग्रेस सभापति र प्रधानमन्त्रीसँग छलफल अगाडि बढाउने विषयमा अनुरोध गर्नुभयो। गगन थापा, विश्वप्रकाशहरुको उतापट्टीबाट पनि द्वन्द्व चलिरहेको छ। मैले यसलाई सकारात्मक तरिकाले लिन्छु। वादविवाद, तर्क विचार बहस हुनुपर्छ। कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शत–प्रतिशत सफल भयो चाहिँ भन्दिनँ। केही अधुरो, अपूरो पनि छन्।
देउवालीले माफी माग्नुपर्छ
सभापति शेरबहादुर देउवाका दुईवटा कुराचाहिँ अलिकति आश्चर्यजनक र गलत देखिए। पहिलो– सभापतिजीले आफ्नै केन्द्रीय समितिका सदस्यहरुलाई तिमीहरु सक्छौ भने एकै चुनावमा उठेर देखाइदेउ न? भनेर चुनौती दिनुभयो। चुनाव जिताउने प्रधानमन्त्रीले नै हो, पार्टी सभापतिले नै हो। उहाँ यो पार्टीको कमान्डर हो। उहाँले आफ्ना केन्द्रीय सदस्य र कार्यकर्ताहरुलाई एक्लै चुनाव जितेर देखाउन ‘च्यालेन्स’ गर्नुभन्दा 'कांग्रेसलाई चुनाव जिताएर देखाउँछु' भन्नुपर्थ्यो। शेरबहादुरजीको महाभूल भयो। उहाँले यस्तो कुरा गर्नुभन्दा पहिले सातपटक सोच्नुपर्छ।
त्यस्तै पार्टीको विधानले उहाँलाई तेस्रोपटक सभापतिमा उठ्न दिँदैन। पार्टीको विधानभन्दा माथि उहाँ हुनुहुन्न। उहाँले 'तिमीहरु यसरी नै लखेट्छौं भने म तेस्रोपटक पनि उठेर देखाइदिन्छु' भन्ने वाणी त्यहाँ प्रयोग गर्नु भएको छ। त्यसले उहाँ कांग्रेसप्रति चिन्तित हुनुहुन्छ जस्तो लागेन। शेरबहादुरजीको ‘स्टेट माइन्ड’ के छ त्यो मलाई पनि थाहा छैन। तर, उहाँले राजनीतिक भाषा बोल्नु भएको छैन। मलाई लाग्छ उहाँले यो विषयमा माफी माग्नुपर्छ। केन्द्रीय कार्यसमितिमा ७५ प्रतिशतको नेतृत्व पाएको मान्छेले यस्तो कुरा गरेको सुहाउँदैन।
अहिले शेरबहादुरजीले जसरी पार्टी सञ्चालन गरिरहनुभएको छ, त्यो वैचारिक र संगठनात्मक रुपमा सही छैन। त्यो कांग्रेसको मूल्य, संस्कृति र पद्धतिअनुरुप पनि छैन। वैचारिक रुपमा किन छैन भने, हिजो र पाँच वर्षअगाडि पनि जोसँग गठबन्धन गर्नुभयो, त्यो नेपालको वामपन्थी पार्टी हो। उहाँले त्यो पनि ग्यारेन्टी गर्न सक्नु हुन्न कि भोलि त्यो पार्टी उहाँसँग रहिरहन्छ भनेर।
कम्युनिष्ट र कांग्रेस पार्टीको वैचारिक दूरी नै काफी छ। अहिलेसम्म पनि मन, वचन र कर्मले प्रजातान्त्रिक पार्टीलाई, बहुलवादलाई, यहाँ भइरहेको संसदीय प्रणालीलाई प्रचण्डजीको पार्टीले स्वीकारिरहेको छैन। प्रचण्डजीको पार्टीको प्रतिवेदनहरुमा यो कुरा काफी भेटिन्छ।
उहाँले यो संविधानभन्दा पनि बहुलवादलाई स्वीकार गर्नु भएको थिएन। बहुदलीय व्यवस्था भन्नु भएको थियो। नेपाली कांग्रेसको वैचारिक धरातलमा टेकेर शेरबहादुरजीले यसलाई कसरी व्याख्या गर्नुहोला?– हामी वैचारिक रुपमा एक ठाउँमा छौं, त्यस कारणले गठबन्धन गर्छौं भनेर। सांगठनिक रुपमा पनि के देखिन्छ भने नेपाली कांग्रेस त देशव्यापी संगठन भएको पार्टी हो। यो पार्टीले भोलि गठबन्धन गर्यो भने पनि कति ठाउँमा आफ्नो चुनावी क्षेत्र छोड्ने हो?
जति–जति माओवादीसँग संगत बढ्दै जान्छ त्यति नै शेरबहादुरजीलाई प्रचण्डजीको जस्तै तानाशाह बन्ने रोग लाग्नसक्छ। तेस्रोपटक पनि पार्टी सभापति बनिदिउँ कि भन्ने झोक प्रचण्डजीको संगतबाट आएको हो।
अब आउने एक दुईवटा निर्वाचनपछि कांग्रेस त्यो ठाउँमा शून्य हुन्छ। विस्तारै कांग्रेसका कार्यकर्ताहरु आफ्नो भविष्य नदेखेर पलायन हुने देखिन्छ। यहाँ जति मेहनत गरे पनि यो ठाउँबाट उठ्नै पाउँदैनौं भनेर छोड्नेहरुको लहर बढ्नेछ। यसैपालि निर्वाचनमा गठबन्धन भयो भने कांग्रेसभित्र विद्रोह हुन्छ।
जति–जति माओवादीसँग संगत बढ्दै जान्छ त्यति नै शेरबहादुरजीलाई प्रचण्डजीको जस्तै तानाशाह बन्ने रोग लाग्नसक्छ। तेस्रोपटक पनि पार्टी सभापति बनिदिउँ कि भन्ने झोक प्रचण्डजीको संगतबाट आएको हो। जुन धम्की कार्यकर्ता र केन्द्रीय सदस्यलाई दिनुभयो, त्यो पनि गलत संगत र संस्कारको उपज हो। त्यसैले शेरबहादुरजीले जुन खाल्डो खन्दै हुनुहुन्छ, आफ्नो पुस्तामा कांग्रेसलाई खुम्चाउँदै हुनुहुन्छ। उहाँकै श्रीमती, छोरा नेता बने पनि उहाँले विस्तारित पार्टी दिए पो त्यसले काम गर्ला। कांग्रेसलाई भारतीय कांग्रेस जस्तो बनाउनका लागि खाल्डो खन्दै हुनुहुन्छ। कति संख्या जित्यो कांग्रेसले? भोलि कति जित्ला? म यो अंक गणितमा जान्नँ। तर, कांग्रेसको समर्थन क्षेत्र खुम्चिँदैछ।
अहिले पार्टीमा प्रभावशाली महान्त्रीहरु हुनुहुन्छ। तर, महामन्त्रीले बाध्य बनाउने वैधानिक व्यवस्था छैन, सभापतिलाई सहयोग गर्नुपर्छ। महामन्त्रीले पार्टीको सचिवालयको कमान्ड कन्ट्रोल गर्नुपर्छ। अहिले पार्टी अफिस ब्यूरोक्रेसीले चलेको छ। महाधिवेशनमा हार्नेहरुले चलाएका छन्। दुई युवा महामन्त्रीहरुले पनि जितेका छन्, पार्टी अफिस पूर्णतया: उनीहरुको नेतृत्वमा हुनुपर्छ। त्यसकारण महामन्त्रीहरुले आफ्नो विधानले दिएको भूमिका गर्नुपर्छ। राजनीतिक महामन्त्री हुन् भने ड्राइभ पनि गर्नुपर्छ।
उपसभापतिको काम सभापति नहुँदाखेरी बैठकको अध्यक्षता गर्ने, सभापतिको अनुपस्थितिमा बैठक अगाडि बढाउने हो।
यसपालिको केन्द्रीय कार्यसमितिको बैठकमा दुवै महामन्त्रीले सभापतिलाई एउटा च्यालेन्ज फ्याँकेका छन्– ‘तपाईंले गर्ने ९ वटा काम छन्, ६ महिनामा विभागको गठन, भातृ संगठनहरुको विस्तार। यस्ता काम सभापतिले गर्न नसक्ने हो भने हामीलाई दिनुस् हामी सात दिनमा गरिदिन्छौं।’ अब हेर्नु के छ भने, सभापतिले महामन्त्रीको यो आत्मविश्वास उपयोगमा ल्याउँछन् कि आफ्नो गुट वा गिरोहले भन्याअनुसार चल्छन्।
शेरबहादुरजी यो उमेरमा संयोगले सम्पूर्ण कांग्रेसको नेता हुनसक्नु भएको छैन। सम्पूर्ण लोकतान्त्रिकहरुको नेता पनि हुन सक्नु भएको छैन। त्यसको पीडा चाहिँ यसपालिको बैठकमा महामन्त्रीको अभिव्यक्तिमै देखियो। उहाँ निर्वाचित महामन्त्रीको समेत सभापति हुनसक्नु भएको छैन। गगनको भाषामा मैले त्यो भेटेँ। पार्टी सभापतिले जिम्मेवारी बहन गर्न नसक्दा महामन्त्रीहरुबाटै पनि यस्ता चुनौती आउँदारहेछन्।
शेखर कोइरालाकै पक्षका केन्द्रीय सदस्यहरुले गठबन्धनलाई केन्द्रीय निर्वाचनमा आवश्यकता र औचित्यका आधारमा हुन सक्छ भनेका छन्। अर्काे चाहिँ, त्यसको रुप र विकृत पार्टी सभापतिबाटै आइरहेको छ। त्यसैले होला मोहनकुमार बस्नेतले शेरबहादुरजीकै क्याम्पको भए पनि सिन्धुपाल्चोकमा गठबन्धनलाई त्यति टेरेनन्। उनले आफ्नै तरिकाले ड्राइभ गरे, उनले आफ्नो तहमा जिताए पनि।
यसले के न्यारेटिभ देखाउँछ भने, शेरबहादुरजीको जुन सोच छ त्यसमा कार्यकर्ता र महामन्त्रीको भावना मिलिरहेको छैन। यो गम्भीर त्रुटि शेरबहादुरजी गर्दै हुनुहुन्छ। उहाँको सभापतिको पहिलो वर्ष चल्दैछ। एकातिर प्रधानमन्त्रीमा पनि असफलजस्तै देखिनु भएको छ। उहाँ चाहिँ सभापतिमा असफल हुनुहुन्छ भनेर म भन्दिँन।
जुन गठबन्धन छ, त्यसलाई ठीक ढंगले लिएर जानु भएन भने उहाँको यो कार्यकाल पाँच वर्ष चल्न सक्दैन। सभापतिको कार्यकालमा खतरा के देख्दैछु भने, यो चुनावमा कांग्रेसमा विस्फोट विद्रोह हुन्छ र कांग्रेसको विशेष अधिवेशन हुन्छ। शेरबहादुरजीलाई त्यहाँ स्ट्यान्ड गर्न गाह्रो हुन्छ।
शेरबहादुरजीलाई पार्टी अपारदर्शी ढंगले चलाएको भन्ने चौतर्फी आरोप छ। यस्तो बाध्यता आइपर्नु भनेको उहाँलाई सम्पूर्ण कांग्रेसको सभापति हुने रहर छैन भन्ने नै हो। यदि, उहाँलाई सबै कांग्रेसको सभापति हुँ भन्ने लागेको भए यसरी अपरादर्शी रुपमा आफ्नै महामन्त्रीलाई लुकाएर निर्णय गर्नुपर्ने थिएन।
प्रचण्डजीले फेरि धोका दिनसक्नुहुन्छ
सभापति देउवाले गठबन्धन गर्ने निर्णय गर्दा त्यसले पार्टीलाई कस्तो असर गर्छ, यो असफल हुँदा जिम्मेवारी लिने कि नलिने स्पष्ट हुनुपर्छ। विगतमा शेरबहादुर देउवाको मन्त्रिपरिषद् रहँदै गर्दा माओवादीका मन्त्रीहरुले एमालेसँग तालमेल गरेर निर्वाचनमा गएको इतिहास छँदैछ। अब पनि यस्तो नहोला कसरी भन्न सकिन्छ? भोलि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आधा–आधा माग्ने वा अरु गर्दैनन् भन्ने कुरा आउँदैन भनेर कसरी भन्न सकिन्छ?
मेरो विचारमा आगामी निर्वाचनमा अधिकांश क्षेत्रमा कांग्रेस एक्लै लड्नुपर्छ। केही क्षेत्रमा भने तालमेल गर्न सकिन्छ। नेताहरुलाई पाँच–दश सिटमा छोड्न सकिन्छ।
प्रचण्डजीले अहिले नै आधा–आधाको कुरा उठाउन थाल्नु भएको छ। कांग्रेसले टेको दिएका कारण प्रचण्डको हैसियत माथि पुगेको छ। अहिले भारत भ्रमणबाट फर्केपछि अर्कै हुनु भएको छ। उहाँको बार्गेनिङ पावर पनि बढेको देखिन्छ। उहाँको अर्थमन्त्रीले बजेट ल्याउँदा यत्रो विवाद भएको छ। प्रश्न उठेपछि पद नै छोड्नुभयो। यसरी निर्माण भएको बजेट कसरी बन्यो भन्ने कुरा प्रधानमन्त्री देउवालाई जानकारी छैन। यो बजेट माओवादीको पार्टी कार्यालयबाट बनेको छ। मैले सुनेअनुसार योजना आयोग पनि संलग्न हुन पाएको छैन। त्यस्तै देउवासँग प्लान बी खै? कांग्रेस हार्छ भन्नुभयो, जिताउने त उहाँले नै हो नि।
विगतमा पनि माओवादीले धोका दिएको हो नि। अहिले पनि स्थानीय निर्वाचनमा रोल्पातिर धोका भएकै हो। यहाँ गठबन्धनमा सिद्धान्त मिलेको छैन, जसले सकस भएको देखिन्छ। बीपी कोइराला, गणेशमान सिंह, सुर्वण शमशेर र कृष्णप्रसाद भट्टराईहरुले पार्टी स्थापना गर्दा यसलाई केन्द्रबाट लेफ्टतिर लैजाने कुरा गर्नु भएको थियो। माओवादी चरम लेफ्ट हो। विचार नमिल्ने र मूल्य पद्धतिमा नटेक्ने हो भने पार्टी बाँच्दैन।
अहिले सबै राजनीतिक दलको ध्यान आगामी निर्वाचनतिरै छ। त्यहि अवस्थामा गठबन्धन पनि को–कोसँग गर्ने भन्ने चर्चा चलिरहेकै छ। तर, मेरो विचारमा आगामी निर्वाचनमा अधिकांश क्षेत्रमा कांग्रेस एक्लै लड्नुपर्छ। केही क्षेत्रमा भने तालमेल गर्न सकिन्छ। नेताहरुलाई पाँच–दश सिटमा छोड्न सकिन्छ। १६५ निर्वाचन क्षेत्रमा नै उम्मेदारी दिएर जानुपर्छ। युवाहरुलाई अघि सार्नुपर्छ। कांग्रेसको अबको घोषणापत्र दुई लाइनको मात्र हुन्छ। गरिबलाई एक अंकमा ल्याउँछ र नयाँ कांग्रेस हुन्छ भनेर युवाहरुलाई अघि सार्नुपर्छ।
पार्टीमा शेरबहादुर देउवा र शेखर कोइराला एकै ठाउँमा उभिएर युवाहरुलाई अघि बढाएर निर्वाचनको क्याम्पेन गर्ने हो भने बहुमत ल्याउन सक्छ। किनकि, अहिले कम्युनिष्टहरु विभाजन भएका छन्। उनीहरुबीच फुट छ। नेपाली कांग्रेस एकढिक्का भएर युवा जोसका साथ निर्वाचनमा जाँदा नतिजा फरक आउँछ।
पार्टीमा गुट चाहिन्छ, गिरोह हुनुहुँदैन
कांग्रेसमा लामो समयदेखि गुटबन्दीको चर्चा छ। कहिलेकाहीँ नेतृत्वमा रहेकाहरुका गतिविधिले त्यो देखाउँछन् पनि। मेरो विचारमा पार्टीमा गुट चाहिन्छ। तर, गिरोह हुनुहुँदैन। शेरबहादुर देउवाको चै झन्डै–झन्डै गिरोहजस्तो छ। पार्टीमा विभिन्न गुट हुन्छ। पार्टीभित्र वैचारिक र रणनीतिक गुट हुन्छन्। जसले विचार दिन्छ त्यो वैचारिक गुट हो।
पार्टीभित्र फरक विचार र सभापतिको विचारसँग असहमति राख्ने कुरा हुन्छ। यसले पार्टीलाई अझै राम्रो बनाउन सहयोग गर्छ। कांग्रेसभित्र पनि विभिन्न धार छन्। कसैलाई धर्म, कसैलाई संघीयता र कसैलाई समानुपातिक चाहिएको छैन। तर, अवसर दिने गुटहरु पनि पार्टीमा हुन्छन्। यसलाई चै स्वाभाविक मानिँदैन। गुटले वैचारिक धरातल टेकेको छ भने त्यसले पार्टीलाई अघि बढाउँछ र जिवन्त रहन्छ।
नेपालका नेता वैचारिक रुपमै स्पष्ट छैनन्
नेपालका नेताहरु पारदर्शी छैनन्। त्यसको मूल कारण उनीहरुमा वैचारिक स्पष्टता नहुनु हो। जो नेता आफ्नै भविष्यप्रति असुरक्षित हुन्छ उसले गर्ने यस्तै हो। आज नेकपा एमालेमा केपी शर्मा ओली के गर्दै हुनुहुन्छ? शक्तिशाली नेकपा किन उहाँले विभाजन गर्नुभयो? विगतमा पनि शेरबहादुर देउवा पार्टी विभाजन गरेर जानु भएको हो नि। अहिले अरुलाई यता र उता बैठक राखेको आरोप लगाउनुहुन्छ। तर, आफूले पनि गरेकै हो नि।
नेताहरुमा धार्मिक कारणले पनि काम गरेको हुन्छ। मेरै परिवार र मेरै आसेपासे मात्र पदमा टिक्नु भनेको अरुसँगको डर नै हो। रुसमा, चीनमा पनि यस्तै भएको थियो। त्यहाँ मृत्युमा पुर्याइयो, यहाँ बाहिर निकालिन्छ।
नेपालका पार्टीहरुको उत्पत्ति ‘इभोलुशन’बाट भएको छैन। दार्शनिक वा अन्य आध्यात्मिक पक्षबाट उत्पादन भएका छैनन्। पहिलो चरणमा जो आए अहिले पनि त्यही नै छन्। विश्वेश्वरप्रसाद कोइरालादेखि गणेशमान सिंहसम्म अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धा गर्नसक्ने नेताहरु थिए। त्यस्तै कम्युनिष्टहरुमा पनि पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी जस्ता एक सय एक नेता थिए।
शेरबहादुर देउवामा नेता हुने गुणको कमी थियो तर कोइरालाहरुको पछि लागेर उनी नेता भए। वैचारिक रुपमा र संगठनात्मक रुपमा उनी छैनन्। तर, पाँचपटक प्रधानमन्त्री भए। नेकपा एमालेमा पनि त्यही देखिन्छ। पुष्पलालदेखि मनमोहनको पछि लागेर नेता त भए, तर समाज रुपान्तरण गरेर नेता हुने प्रयत्न नै गरेनन्।
पार्टीहरु विघटनतिर जाँदैछन्
पार्टीको मूल उद्देश्य सत्तामै जानु हो। तर, हाम्रोमा भिन्न संस्कार देखिएको छ। पार्टीहरु धामाधम विघटनतिर जाँदैछन्। यो अहिलेको गम्भीर प्रश्न हो। पार्टी बन्ने नै विचार र सत्ता चलाउनका लागि हो। विचारलाई लिएर म्यासेज सिर्जना गर्छ। यसलाई चलाउने म्यासेन्जर नेता हो। पार्टी संगठन मेसिन हो। यी तीन वटा ‘एम’ नै पार्टी हो। पार्टीसँग यी तीनै कुरा छ भने सत्तामा जान्छ। अनि पार्टीको हुँदैन देशको हुन्छ। उसले देशको मुहार फेर्नुपर्ने हुन्छ।
सत्तामा गएर आफ्नो नीति र दिशा परिर्वतन गर्दैन भने के काम त्यो पार्टीको। अहिले देखिएको समस्या भनेको यही हो। अहिले कम्यूनिष्ट र कांग्रेस मिलेर सत्ता गठवन्धन बनेको छ। सत्तामा गएर कम्युनिष्ट विचार कार्यान्वनमा लैजाने कि कांग्रेसको भन्ने लडाइँ छ।
अहिले सत्ता गठबन्धनका दलहरु पनि सिद्धान्त बाहिर छन्। राजनीतिक इतिहासमा के पर्न जान्छ भन्ने सवालमा नेपाली कांग्रेस आफैंले चाहिँ खाल्टो खन्दै छ।
यसरी हेर्दा यो त ऊँट बन्यो। गठबन्धन यसरी हेर्दा ऊँट भएको छ। सत्तामा जाँदैन भन्ने पार्टी बेइमान हो। तर, जसरी पनि सत्तामा जान्छु भन्नु झन् ठूलो बेइमानी हो। अहिले सबै त्यतैतिर गएका छन्। कांग्रेसलाई ५० वर्ष बाहिर राखेको घोषणा केपी शर्मा ओलीले गरेका थिए। तर, पाँच वर्ष नै चलाउन सकेनन्।
अहिले हरेक पार्टीहरुले वैचारिकता गुमाएका छन्। कांग्रेसमा हेर्दा शेरबहादुर देउवा पार्टी सभापति हुनुहुन्छ, तर उहाँ प्राविधिक रुपले मात्र उक्त पदमा पुग्नु भएको हो। वैचारिक र सैद्धान्तिक रुपमा नेतृत्व गरेर पुग्नु भएको हैन। एकछिनलाई मानौं अहिले प्रत्यक्ष कार्यकारीको रुपमा निर्वाचन भयो भने जित्नुहुन्छ त? त्यो अवस्थामा उहाँले आफूलाई जिताउँ भनेर भन्नसक्नुहुन्छ? पार्टीको मेसिन छ, तर मेसिन्जर छैनन्। भनेको नेता छैनन्।
अहिले सत्ता गठबन्धनका दलहरु पनि सिद्धान्त बाहिर छन्। राजनीतिक इतिहासमा के पर्न जान्छ भन्ने सवालमा नेपाली कांग्रेस आफैंले चाहिँ खाल्टो खन्दै छ।
एउटा उदाहारण हेरौं–भारतमा भारतिय राष्ट्रिय कांग्रेसले उत्तर प्रदेशमा बडो उदार भावले समाजवादीसँग गठबन्धन गर्यो। त्यो समयबाट त्यत्रो ठूलो पार्टी समाप्त भएर गयो। त्यसकारण पार्टीको आकार बढ्ने घट्ने कस्तो अवस्थामा हुन्छ भन्ने कुरा भारतीय राष्ट्रिय कांग्रेसको यथार्थलाई हेरे पुग्छ। यता पट्टी नेपाली कांग्रेसले त्यसबाट पाठ सिकेन।
प्रचण्डसँग देउवाजीको मिलनले लोकतान्त्रिक भावधारामा खलल पुग्यो
शेरबहादुरजीले सत्ताका लागि जुन खालको गठबन्धन गर्नुभयो, त्यो विचारसम्बत छैन। मैले पहिल्यैदेखि यो कुरा भन्दै आएको हुँ। अहिले पनि अडिग छु। देउवाजीले लोकतान्त्रिक भावधारामा बग्दै गरेको पार्टीमा प्रचण्डजीलाई मिसाउनुभयो। यसले लोकतान्त्रिक भावधारामा खलल पुगेको छ।
यद्यपि, अलि–अलि आशा छ। यसपालिको केन्द्रीय कमिटिको बैठकमा महामन्त्रीद्वयले कडा टक्कर दिएका छन्। देउवाजीले आफ्नो भूल सुधार गर्नुहुन्छ कि भन्ने झिनो आशा चाहिँ पलाएको छ।
(राजनीतिक विश्लेषक आचार्यसँग गरेको कुराकानीमा आधारित)
यस श्रृंखलाका थप सामग्रीहरू :
कम्युनिस्ट पार्टी मृत, नेता जीवन्त!
कलहको दलदलमा दलहरू
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।