दुई वर्षयता सरकारका कार्यमा कांग्रेसले प्रभावकारी भूमिका देखिएको चिकित्सा शिक्षा विधेयकमा हो। तोडमोड गरी ल्याएको उक्त विधेयकको विपक्षमा कांग्रेसको भूमिका सदन, सडक र संसदीय समितिहरुमा देखियो।
७७ जिल्लामा कांग्रेसका नेता देखिए, सडकमा नेता कार्यकर्ता प्रर्दशनमा निस्किए। गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेको अस्पताललाई कांग्रेसले पुनर्स्थापित गर्न सफल भयो। संगठित रुपमा कांग्रेस सडकमा निस्किदा सरकारमाथि दबाब परेको थियो।
यतिबेला कांग्रेसका दुई भूमिका छन। पहिलो– परम्परागत रुपमा कांग्रेसले खेल्नुपर्ने प्रतिपक्षीय भूमिका। दोस्रो- कोभिड १९ पछिको समयमा कांग्रेसको भूमिका।
यसलाई दुई चरणमा हेर्नुपर्छ। सरकारलाई रचनात्मक सहयोग गरेर जनताप्रति उत्तरदायी बनाउने प्रतिपक्षी दलको मूल कार्य हो। पारदर्शी, जवाफदेही बनाउने र सरकार निरंकुश हुँदै गएको छ भने त्यसलाई रोक्ने कार्य प्रतिपक्षको हुन्छ।
पार्टी सभापतिका रुपमा शेरबहादुर देउवाको अहिलेको भूमिका पार्टीको विचारलाई संगठित गर्ने कार्य हो। विचार र संगठनलाई सही तरिकाले जनता र कार्यकर्तामा पुर्याउने हो। प्रतिपक्षीय दलको नेताको हैसियतमा सभापति देउवाको भूमिका फरक हुन्छ। सरकारलाई जनताप्रति उत्तरदायी र पारदर्शी बनाउन दबाब दिने कार्य पनि सभापतिकै बलमा हुनुपर्छ।
कोभिड १९ अघि र पछि कांग्रेसका एजेण्डा के थिए त? कोभिडअघि सरकारले ल्याएका विधेयक, भ्रष्टचारका बारेमा कांग्रेसको भूमिका गर्जनका साथ सुनिएन। केही आवाज सुनिए तर संगठित रुपमा सुनिएन। संसदमा पार्टी सभापति र महामन्त्रीको गर्जन संसदमा सुनिएन। संसदको फितलो भूमिकाले कांग्रेसलाई अहिले मात्रै होइन,भविष्यमा पनि चुनौति थप्नेछ। भ्रष्टचार, राष्ट्रियता र सुशासनका विषय लिएर जनतामा जानेले नै सरकार बनाउने हो।
राष्ट्रियताको मुद्दामा अहिले लडाइँ लडिँदैछ। राष्ट्र नै एक ठाउँमा आएको छ। भ्रष्टचारको मुद्दामा कांग्रेसमाथि नै प्रश्न उठिरहेका छन्। अहिलेको नेतृत्वले भ्रष्टचारका मुद्धामा क्षमता वृद्धि गरेको देखिँदैन। कांग्रेसले संसदमा भ्रष्टचार विरुद्धको आवाज उठाउन सकेन। जनताका बीचमा पनि उठाउन सकेन। कतिपय विषय संसद मार्फत नै दबाब दिनुपर्ने हुन्छ। ‘वाचडग’ को भूमिका देखिएन।
कांग्रेसको छाया सरकार पनि छ। नेपालमा छाया सरकार कति प्रभावकारी हुने छलफलको विषय पनि छ। कि बनाउन हुँदैन। तर बनाइसकेपछि प्रभावकारी हुनुपर्ने हो। बेलायतमा छाया प्रधानमन्त्रीलाई ‘वेटिङ प्रधानमन्त्री’ भन्छन्।
प्रदेश र स्थानीय तहका पराजित स्थानमा कांग्रेसले आफ्नो भूमिका देखाउने प्रयासरत छ। भोलिका नेता आउने प्रदेशबाटै हो। तर, प्रदेश सरकार बनिसकेपछि हालसम्म प्रतिपक्ष दलका नेताले बोली निकाल्न सकेका छैनन्। भविष्यको राष्ट्रिय नेता ल्याउने प्रदेशसभाबाटै हो। प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदलाई प्रशिक्षण अभाव देखिएको छ। भारतीय प्रधानमन्त्री गुजरातको मुख्यमन्त्री हुँदै राष्ट्रिय राजनीतिमा आएका हुन्। नेपालको सन्दर्भ पनि त्यस्तै हो। भोलिको राजनीति व्यक्तिको प्रस्तुतिको आधारमा हुने हो।
केन्द्रमा कमजोर देखिएको कांग्रेस, प्रदेश र स्थानीय तहमा समेत प्रतिपक्षीय भूमिकामा कमजोर देखिएको छ। स्थानीय नेता कार्यकर्तालाई प्रशिक्षण दिने, अनुत्तरदायी शासन पद्धतिलाई चेक एण्ड व्यालेन्स गर्ने, जनमत सिर्जना गर्ने कार्य कांग्रेसको हो। आगामी निर्वाचनमा विजयी हुन आधार बनाउने तल्लो तहमै हो। जनमत आफ्नो पक्षमा ल्याउने गरी कांग्रेसले स्थानीय गतिविधि गर्न सकेको छैन। पार्टी पंक्ति परिचालन गर्ने राष्ट्रिय मुद्दा कांग्रेससँग नभएको होइन।
मूल भूमिका पार्टी सभापतिकै हुन्छ। रोष्ट्रममा उभिएर सत्ताका गलत कार्यको भण्डाफोर गर्ने मूल दायित्व सभापति देउवाकै हो। नीति तथा कार्यक्रम ठीक भएन भन्ने तर्कले मात्रै हुँदैन। कस्तो हुनुपर्ने त्यसको विकल्प कांग्रेसले दिने हो। प्रतिपक्षको नेताले जनतालाई सँगै राख्न सक्नुपर्छ। जनतालाई राष्ट्रिय मुद्दाको प्रशिक्षित गर्ने मूल जिम्मेवारी पनि प्रतिपक्ष दलको हुन्छ।
एउटै मुद्दामा समेत कांग्रेसका फरक फरक अभिव्यक्ति आउँछन्। सभापति र महामन्त्री सहित व्यक्तिगत रुपमा वक्तव्य आउँछन्। एक ढिक्का हुनुपर्ने समयमा किन व्यक्ति अनुसार वक्तव्य आउँछन्? तमासा किन देखाएको? निर्वाचनमा विजयी हुने आधार भनेकै पार्टी एक ढिक्का हुनु हो। पार्टीको लेटरप्याडमा व्यक्तिगत वक्तव्य निकाल्नेलाई कारबाही हुनुपर्छ। लेटरप्याडको दुरुपयोग भइरहेको छ।
हिजोको परम्परागत भूमिकाबाट मात्रै नहुने समय छ। कोभिड १९ पछिको संसार परिवर्तन हुँदैछ। कोभिड १९ पछि कांग्रेसले गर्ने कार्य दुइटा छन्। पहिलो- सरकारले राहतका कार्य के गर्दैछ? रोजगारीका सन्दर्भमा कसरी सोच्दैछ? परीक्षण प्रक्रिया पनि एक प्रकारले राहत नै हो। परीक्षण गतिमा सरकार कमजोर छ। लकडाउनका यो अवधि एकप्रकारले खेर गएको अवस्था हो। लकडाउन बाहेक अन्य विकल्प थिएन। यस बीचमा अन्य तयारी सरकारको देखिएन।
कोभिड १९ उन्मुलन हुने/नहुने निश्चित छैन। अब कांग्रेसले गर्ने के? जिडिपी (कुल ग्राहस्थ उत्पादन)को मुख्य आधार सेवा क्षेत्र तहसनहस छ। जिडिपी साँघुरिदैछ। यो समस्या संसारकै हो। पर्यटन क्षेत्रमा ठूलो प्रभाव परेको छ। संगठित क्षेत्रमा काम गर्ने १३ लाख युवा बेरोजगार भइसके। सबै बेरोजगारको तथ्यांक ४४ लाखको छ। अबको कांग्रेसको दायित्व यहाँ देखिन्छ। संगठित र असंगठित क्षेत्रमा रोजगारी सिर्जना गर्ने, बेरोजगार बनेकालाई राहत पुर्याउने कार्यमा कांग्रेसको तत्परता देखिनुपर्छ। अर्थतन्त्रलाई उकास्नका लागि कांग्रेस अघि देखिनुपर्छ।
प्रधानमन्त्री रोजगारीका नाममा विनियोजित दुई अर्ब रुपैयाँ आफ्ना कार्यकर्तालाई नेकपाले बाँड्दैछ। त्यसको खबरदारी गर्ने कांग्रेसले नै हो। संगठित र असंगठित कामदारलाई तत्कालै राहत वितरणका लागि ३० अर्बको आवश्यकता पर्दछ। २५ देखि ३० लाख रोजगारी सिर्जना गर्नुपर्छ। त्यसका लागि कांग्रेसले ध्यान दिनुपर्छ।
पूर्व अर्थमन्त्रीको नेतृत्वमा बनाइएको अध्ययन समिति अपूर्ण छ। त्यस समितिमा सोसल र साइकोलोजिकल विज्ञ पनि चाहिन्छ। पूर्व अर्थमन्त्री र पूर्व योजना आयोगका उपाध्यक्ष बसेर अध्ययन त भएकै थियो नि। कोरोना भाइरसपछि आउने ‘रिसेसन र डिप्रेसन’ लाई सम्बोधन गर्ने प्रतिपक्षको भूमिका हो।
राहत वितरणमा नेपालमा मुख्य समस्या मेकानिज्म हो। फण्ड संकलन कांग्रेसले पनि गर्न सक्ने अवस्था हुन्छ। त्यसले पार्टी थप सशक्त बनाउने एउटा प्रक्रिया पनि हुन्थ्यो।
६० प्रतिशत बढी आश्रित कृषिलाई पुनर्जागृत नगरी सुखै छैन। अन्तर्राष्ट्रिय पर्यटन तत्काल बढ्दैन। आन्तरिक पर्यटनको सम्भावना तत्काललाई गाह्रै छ। कांग्रेसले अब प्रमुखतः सोच्ने नै कृषि क्षेत्रको विकासमा हो। फर्केका युवालाई कृषि उत्पादनमा सहभागी गराउने अवसर पनि छ। वैदेशिक रोजगार गुमेर फर्केकालाई अनुभवका आधारमा विभिन्न क्षेत्रमा जोड्ने कार्य कांग्रेसले गर्नुपर्छ।
संकटको बेला कांग्रेस सुविचारित हुने हो भने अढाइ वर्ष पछि कांग्रेसको पुनः समय आउँछ।
(राजनीतिक विश्लेषक आचार्यले ‘प्रतिपक्ष भूमिकाको कसीमा नेपाली कांग्रेस’ विषयक भिडिओ संवादमा राखेको विचारका आधारमा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।