पूर्वअर्थमन्त्री जनार्दन शर्मा (फाइल तस्बिर)
काठमाडौं– आर्थिक बर्ष २०७९/०८०को बजेट निर्माणको क्रममा भएको भनिएको अनधिकृत व्यक्तिको संग्लनताका बारेमा छानविन गर्न गठित संसदीय विशेष समितिको म्याद थपका लागि सभामुख अग्नि सापकोटालाई पत्र पठाइएको छ।
असार २८ गतेबाट काम सुरु गरेको विशेष समितिको समयसीमा बिहीबार सकिँदैछ। बिहीबार म्याद सकिने भएकाले समितिले म्याद थपका लागि आग्रह गर्दै सभामुख सापकोटालाई पत्र लेखेको हो।
अहिलेसम्म बजेट निर्माण प्रक्रियामा संग्लन कर्मचारीदेखि राजनीतिक नेतृत्वसँग छलफल भएको र यो छलफलका आधारमा निष्कर्ष निकाल्नलाई समितीलाई थप समयको आवश्यक भएकोले सभामुखलाई पत्र लिखिएको उक्त समितीका सचिव सुरेन्द्र अर्यालले बताए।
यद्यपि समयको लागि दिन तोकेर भने पत्र नलेखिएको सचिव अर्यालले बताए।
अर्यालका अनुसार सिसीटीभीको फुटेज रहने हार्ड डिस्क प्रहरीको प्रयोगशालामा लगिएको र त्यसको रिर्पाट बिहिबार मात्र आउने बताएको छ।
पूर्वअर्थमन्त्री शर्मासँग ३ घण्टा छलफल
छानबिन समितिले बिहीबार पूर्वअर्थमन्त्री अर्थमन्त्री जनार्दन शर्मासँग बजेट निर्माण प्रकरणमा बिहीबार करिब ३ घण्टा छलफल गरेको छ। छलफलको क्रममा शर्माले संसद्मा भनेकै कुरालाई दोहोर्याएका सचिव अर्यालले बताए।
साथै अहिलेसम्म छलफल गरेका सबै व्यक्तिले लगभग एकै किसिमको जवाफ दिएको अर्यालको भनाइ छ।
समितिको अर्को बैठक शुक्रबार ११ बस्ने पनि सचिव अर्यालले जानकारी दिए।
संसदीय विशेष समितिमा सांसदहरु प्रदीप ज्ञवाली, खगराज अधिकारी, भानुभक्त ढकाल, बिमला बिक, देव गुरुङ, शक्ति बस्नेत, लक्ष्मणलाल कर्ण, सरला यादव, सीताराम महतो, मानबहादुर विश्वकर्मा, सुरेन्द्र यादव सदस्य रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।