काठमाडौं- आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश र सीसीटीभी फुटेजका विषयमा छानबिनका लागि गठन गरिएको संसदीय छानबिन समितिको म्याथ थप गर्ने तयारी गरिएको छ।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दरमा हेरफेर गरेको आरोप लागेपछि २२ असारमा अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिएका थिए भने सोही दिन संसदीय विशेष समिति गठन भएको थियो। उक्त समितिले छानबिनका लागि १० दिनको म्याद पाएको थियो।
असार २८ गतेबाट काम सुरु गरेको समितिको म्याद बिहीबारदेखि सकिँदैछ। म्याद सकिन लागेको भए पनि कतिपय विषयमा अध्ययन गर्न बाँकी रहेकाले म्याद थप गर्न सभामुखसँग आग्रह गर्ने निर्णय समितिले बुधबार नै गरेको छ।
समितिले बिहीबार बिहान पूर्व अर्थमन्त्री जनार्दन शर्मासँग तीन घण्टा लामो बयान लिएको छ। त्यसक्रममा शर्माले अनधिकृत व्यक्तिको प्रवेशलाई अस्वीकार गरेका छन्।
समितिले अर्थसचिव, पूर्वअर्थसचिव, शर्माबारे समाचार लेख्ने दुईजना पत्रकार लगायतसँग बयान लिइसकेको छ।
त्यस्तै अर्थमन्त्रालयको सीसीटीभी फुटेजका बारेमा जाँच गर्न बुधबार नेपाल प्रहरीको फरेन्सिक ल्याबमा पठाइएको छ। फरेन्सिक ल्याबबाट रिपोर्ट आउन केही दिन लाग्ने र प्रतिवेदन तयार गर्नु पर्ने भएकाले त्यसलाई आधार मानेर म्याद थप हुने समितिका एक सदस्यले बताए।
संसदीय विशेष समितिमा सांसदहरु प्रदीप ज्ञवाली, खगराज अधिकारी, भानुभक्त ढकाल, बिमला बिक, देव गुरुङ, शक्ति बस्नेत, लक्ष्मणलाल कर्ण, सरला यादव, सीताराम महतो, मानबहादुर विश्वकर्मा, सुरेन्द्र यादव रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।