काठमाडौं- पूर्व अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति प्रवेश नगरेको दाबी गरेका छन्।
बिहीबार संसदीय विशेष समिति समक्ष बयान दिँदै पूर्व अर्थमन्त्री शर्माले बजेट निर्माणको अघिल्लो दिन जेठ १४ गते मध्यरातसम्म आफू मन्त्रालयमै रहेको र त्यहाँ मन्त्रालयका दुई सचिव, बजेट महाशाखाका प्रमुख, अन्य बजेट सम्बन्धी कर्मचारी मात्र सहभागी रहेको दाबी गरेका हुन्।
बजेट र करको कुरा संवेदशील हुने आफूले बुझेको भन्दै शर्माले अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको भनि आफूमाथि लागेको आरोप लगत भएको दाबी गरेको स्रोतको भनाइ छ।
अर्थमन्त्रीबाट राजीनामा दिने क्रममा उनले प्रतिनिधि सभामा पनि यही दाबी गरेका थिए। छानबिन समिति निर्माण र अर्थमन्त्रीबाट राजीनामा दिनुअघि उनले प्रतिनिधि सभामा आफूले कुनै गल्ती नगरेको बताएका थिए। सोही कुरा उनले समितिमा दोहोराएका छन्।
संसदीय छानविन समितिमा बयान दिँदै उनले बजेट निर्माणका क्रममा मध्यरातमा आफू मन्त्री क्वाटर गएर सुतेको र विहान ४ बजे आउँदा पनि कर्मचारीहरुले बजेटको अन्तिम कार्य गरिरहेको पाएको भन्दै कुनै पनि व्यक्तिको प्रवेश नै नभएको दाबी गरे।
शर्माले करको दर हेरफेर नीतिगत रुपमा र मन्त्रालयभित्रको सल्लाहमा भएको दाबी गरे। उनले करको दर परिर्वतन गर्ने कुरामा अन्य व्यक्तिको सहयोग लिन कुरा नभएको तर विज्ञको रुपमा बजेट निर्माण अघि धेरैसँग कुराकानी भएको समिति समक्षको बयानका क्रममा भने। शर्माले सञ्चार माध्यमले के आाधारमा लेखे भन्नेबारे आफूलाई जानकारी नभएको तर्क गरे।
उनले मन्त्रालयको सीसीटीभी फुटेज मेटिएको कुरा आफूलाई थाहा नभएको बताए । मन्त्रीलाई मन्त्रालयभित्र हुने सीसीटीभी फुटेज, त्यसको क्षमता लगायतका विषयमा जानकारी नहुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।