काठमाडौं– बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको घुसपैठ र सीसीटीभी फुटेज प्रकरणमा छानबिन गर्न गठित संसदीय विशेष समितिले बिहीबार पूर्व अर्थमन्त्री जनार्दन शर्मासँग बयान लिँदैछ।
समितिले आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका बेला अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश र त्यस समयको सीसीटीभी फुटेज हराएको विषयमा शर्मासँग सोधपुछ गर्न लागेको हो। शर्मासँग बिहान साढे ८ बजे बयान लिइने समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए।
यसअघि समितिले मन्त्रालयका कर्मचारीको बयान लिनुका साथै त्यहाँको अवलोकनसमेत गरिसकेको छ। यस्तै, सबैभन्दा पहिले समाचार लेख्ने अन्नपूर्ण पोस्ट दैनिकका दुई जना पत्रकारसँग पनि समितिले सोधपुछ गरिसकेको छ।
बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी भइ कुनै निश्चित समूहलाई फाइदा पुग्नेगरि करका दर हेरफेर गरेको आरोप लागेपछि छानबिनका लागि ११ सदस्यीय संसदीय समिति बनेको थियो। समिति बनेसँगै शर्माले असार २२ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए।
समितिलाई काम सुरु गरेको १० दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको थियो। जुन शुक्रबार सकिँदैछ। समितिले असार २८ गतेदेखि काम सुरु गरेको थियो। बुधबारको समितिको बैठकले म्याद थपका लागि अनुरोध गर्ने निर्णय पनि गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।