काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री बन्नकै लागि देश–विदेश दौडाहमा निस्किएको टिप्प्णी गरेका छन्।
बुधबार काठमाडौंमा आयोजित अनलाइन मिडियाका सम्पादकहरुसँगको छलफलमा नेता पोखरेलले १२ प्रतिशत जनमतलाईसमेत प्रभावित पार्न नसक्ने दाहालले प्रधानमन्त्री बन्ने प्रयास गर्नु लोकतन्त्रका लागि लज्जाको विषय भएको बताए।
उनले दाहालप्रति संकेत गर्दै जनमत गुमाएकाहरुले राष्ट्रको नेतृत्व गर्ने भन्ने कुरा लोकतान्त्रिक कुरा नभएको तर्क गरे।
उनले भने, ‘जति साना दलहरु मुलुकको राजनीतिमा हावी हुन्छन्, त्यति मुलुकले सही बाटो समाउन सक्दैन। आज के देखिन्छ–तेस्रो, चौंथो पार्टीका नेता प्रधानमन्त्री खोज्न हिँडिराखेको, भौंतारिइराखेको सुन्दा नेपालको लोकतन्त्रले सही बाटो समातेको छ र? १२ प्रतिशतको जनमतलाई प्रभावित गर्ने सामथ्र्य राख्दैनन्। प्रधानमन्त्री खोज्न देश-विदेश दौडाहामा कुदेको छ। यो भन्दा लज्जाजनक लोकतन्त्र के हुन्छ त? हो त्यो चिजबाट मुलुकलाई जोगाउनका लागि जनता जागरुक हुुनुपर्छ। जनमत गुमाएकाहरुले राष्ट्रको नेतृत्व गर्ने भन्ने कुरा लोकतन्त्रको कुरा होइन। लोकतन्त्र भनेको जनमत भएकाहरुले शासन गर्ने प्रणाली हो।’
महासचिव पोखरेलले कालो धनलाई सेतो बनाउने प्रयास असफल भएपछि सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि प्रहार गरिरहेको आरोप लगाए। गभर्नरलाई एमालेको कुनै विभागको सदस्यको रुपमा मुछेर सरकारले हटाउने प्रयास गरिहेको भन्दै आपत्ति जनाए।
महासचिव पोखरेलले गभर्नर अधिकारीलाई सो पदबाट हटाउने काम गरिए मुलुक श्रीलंकाकरण हुने भन्दै चिन्ता व्यक्त गरे। महासचिव पोखरेलले गभर्नर अधिकारी एमालेको कुनै पनि विभागमा नरहेको कुरा उनी स्वमय्ले भनेपछि त्यसमाथि थप बहस गर्नुपर्र्ने आवश्यकता नभएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।