काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा पार्टीको सिट संख्या बढ्ने बताएका छन्। स्थानीय तहको निर्वाचनमा भने ‘गठबन्धनको गीत’ धेरै गाउँदा कम ठाउँमा मात्रै जित्नु परेको नेपालको भनाइ छ।
पार्टीको स्कूल विभागले बुधबार काठमाडौंमा आयोजना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अबको चुनावमा भने समानुपातिकतर्फ मात्रै २० देखि २५ लाख मत प्राप्त गर्न सकिने हिसाब सुनाए।
‘स्थानीय तहको निर्वाचनमा हामीले गठबन्धनको गीत गाएर आफ्नो तयारीको काम गर्न सकेनौं। तयारी गरेर लडेको भए जितिन्थ्यो, नजिते पनि सानदार मत आउँथ्यो, पार्टीको चिह्नको प्रचार हुन्थ्यो। कतिपय ठाउँमा उम्मेदवारी दिने आँट गरेनौँ, कतिपय ठाउँमा गठबन्धन नहुँदा सातो गयो,’ नेपालले भने, ‘हामीले कलम चिह्नमा उठाएका उम्मेदवारहरु निर्वाचन आयोगको रेकर्डमा हुनुहुन्छ। समानुपातिकमा २०/२५ लाख मत प्राप्त गर्यौं भने २० देखि २५ सिट हामीले पाउँछौँ। प्रत्यक्ष निर्वाचनमा हाम्रो क्षमता बढ्छ।’
गठबन्धनको भरोसा बढी गर्नाले र अरुको सहारामा बाच्ने बानीले पार्टीलाई नोक्सान पुर्याएको अध्यक्ष नेपालको भनाइ छ। आफ्नै तयारीमा स्थानीय तहको निर्वाचन लडेको भए धेरै ठाउँमा चुनाव जित्ने दाबी गर्दै नेपालले भने, ‘गठबन्धनको गीत हामीले बढी गायौं। गठबन्धनको भरोसा धेरै गर्यौं। अरुको भरोसा गरेपछि आफ्नो शक्ति पठाउने कुरामा धेरै ध्यान जाँदो रहेनछ। अरुको सहारामा बाच्ने बानी पर्दो रहेछ। अरुको सहारामा बाच्ने मान्छेले केही गर्न सक्दैन।’
अध्यक्ष नेपालले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओलीले फुटाएको पनि दाबी गरे। नेकपा एमाले विभाजित भएपछि पनि ओलीले पार्टीलाई एकताबद्ध गर्न नसकेको नेपालको भनाइ छ।
एमालेमा राजा, महाराजाको गन्ध आएपछि आफूले नयाँ पार्टी गठन गरेको बताउँदै नेपालले ओलीले अहम्ता देखाएकै कारण अहिलेको अवस्था सिर्जना भइरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।